मानव आवाज

२०८३ भदौ २५ गते
00: 00: 00
२०८३ भदौ २५ गते

मदिराको नियमन र नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउन जोड

पोखरा । मदिराको कुलत तथा नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन सञ्चार क्षेत्रसहित सबै सरोकारवालाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा मदिराजन्य पदार्थले पार्ने असरलाई ध्यानमा राख्दै यसको नियमन तथा नियन्त्रणका लागि सञ्चार माध्यम र सञ्चारकर्मीले सचेतनामूलक भूमिका बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन् ।

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल), कास्कीको आयोजनामा ‘मदिराको नियमन र नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम २०८३ भदौ २४ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रममा मदिरा नियन्त्रण तथा नियमनका लागि विद्यमान कानुनी तथा नीतिगत व्यवस्था, त्यसको कार्यान्वयन र सञ्चार क्षेत्रले उठाउनुपर्ने विषयबारे छलफल गरिएको थियो ।

सिविन नेपालका अध्यक्ष माधव प्रधानले स्वास्थ्यका दृष्टिले मदिरा सेवन हानिकारक रहेको बताउँदै यसको नियमन र नियन्त्रणका लागि समाजमा सचेतना फैलाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले मदिरा नियन्त्रणसम्बन्धी नीतिगत व्यवस्था, यसको सामाजिक तथा स्वास्थ्यगत असर र सञ्चारकर्मीले उठाउनुपर्ने मुद्दालाई प्राथमिकताका साथ सार्वजनिक बहसमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सिविन नेपालका कार्यकारी निर्देशक ध्रुव गौतमले मदिरासम्बन्धी विद्यमान कानुन, नीति तथा सरकारी प्रतिबद्धताबारे प्रस्तुति दिनुभयो ।

उहाँले मदिरा ऐन, २०३१ नेपालमा मदिरा नियमन गर्ने प्रमुख कानुनी आधार रहेको बताउँदै यसले मदिराको उत्पादन, बिक्रीवितरण, निकासी, पैठारी तथा व्यक्तिगत उपभोगसम्बन्धी व्यवस्थालाई नियमन गरेको जानकारी दिनुभयो ।

गौतमले मदिराजन्य पदार्थको अवैध बिक्रीवितरण, घरेलु हिंसा न्यूनीकरण तथा मदिराको विज्ञापन नियमनका विषयमा सर्वोच्च अदालतबाट समयसमयमा परमादेशलगायतका निर्देशन जारी भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँका अनुसार कानुनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मदिरा बिक्री गर्न तथा उनीहरूलाई मदिरा खरिद गर्न निषेध गरेको छ ।

व्यावसायिक रूपमा मदिरा बिक्रीवितरण गर्ने समयसमेत कानुनले निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारले मदिराजन्य उद्योगको स्थापना, नवीकरण तथा गुणस्तर परीक्षणका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आन्तरिक राजस्व कार्यालयमार्फत नियमन तथा अनुगमन गर्दै आएको गौतमले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले गण्डकी प्रदेश सरकारले घरेलु मदिरालाई ब्रान्डिङ, नियमन तथा कानुनी दायरामा ल्याउने विषयमा छुट्टै नीति तथा कानुनी व्यवस्था निर्माणको अभ्यास र बहस अघि बढाएको बताउनुभयो ।

उहाँले मदिरासम्बन्धी विषयमा सञ्चार माध्यमले तथ्यमा आधारित सामग्रीमार्फत सार्वजनिक बहस र सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

वक्ताहरूले परिवारमा मदिरा सेवनका कारण हुने झैझगडा तथा घरेलु हिंसाले बालबालिकाको पठनपाठनमा असर पुग्नुका साथै सुरक्षित वातावरणमा हुर्कन पाउने उनीहरूको अधिकारसमेत कुण्ठित हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका थि ए।

सिविन नेपालका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कास्की जिल्ला संयोजक शङ्कर नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकार तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार