पोखरा । कास्की जिल्लामा लुकेर रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले ‘कास्की आइडल सिजन-२’ आयोजना हुने भएको छ ।
साँझ क्रियसन्स प्रालिको आयोजनामा प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २०८३ कात्तिक १४ गते पोखरा सभागृह हलमा हुने आयोजकले जनाएको छ ।
आयोजकले २०८३ भदौ २० गते पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष झलककुमार गुरुङले कास्की जिल्लासहित नेपालका विभिन्न भेग तथा आसपासका क्षेत्रमा ओझेलमा परेका प्रतिभालाई खोजी गरी स्थापित गराउने उद्देश्यले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो ।
कार्यक्रम संयोजक आदर्श पोखरेलले प्रतियोगितामार्फत विशेषगरी गायन र नृत्य क्षेत्रमा रहेका प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न चरणका छनोट तथा ‘एलिमिनेसन राउन्ड’ सञ्चालन गरिनेछ र प्रतियोगितामा कुल ६ राउन्ड रहनेछन् ।
अध्यक्ष गुरुङले पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा दोस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो ।
प्रतियोगिताले प्रतिभाशाली गायकगायिका तथा नृत्यकारलाई अवसर दिनुका साथै नेपाली सङ्गीत तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्याउने उहाँको भनाइ छ ।
प्रतियोगिताको भोटिङ प्रणालीबारे गुरुङले प्रतियोगीलाई अनावश्यक दबाब नदिइने दाबी गर्नुभयो ।
“प्रतियोगीलाई भोटका लागि प्रेसर दिइने छैन, प्रतिभाका आधारमा उत्कृष्ट छनोट गर्ने वातावरण बनाइनेछ ।”-उहाँले भन्नुभयो । स्वस्थ प्रतिस्पर्धामार्फत अब्बल कलाकार उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामार्फत युवालाई सिर्जनात्मक तथा सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने र प्रतिभावान् कलाकारलाई गायन, अभिनय तथा नृत्यलगायतका क्षेत्रमा अघि बढ्न आवश्यक अवसर तथा प्रेरणा प्रदान गर्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताबाट १५ लाख २५ हजार रुपियाँ आम्दानी तथा १४ लाख ३० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट ९५ हजार रुपियाँ बचत हुने र उक्त रकम लुकेका प्रतिभालाई गीत तथा म्युजिक भिडियो निर्माणलगायतका अवसर प्रदान गर्न प्रयोग गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन २०८३ भदौ २७ गते गरिनेछ । इच्छुक प्रतियोगीले सोही मितिसम्म आवेदन तथा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।
गायन र नृत्य दुवै विधामा प्रथम हुनेले ६० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले ४० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र तथा तृतीय हुनेले २० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीलाई प्रोत्साहनस्वरूप राष्ट्रिय गीतमा अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सफलताको शुभकामना दिँदै गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्राज्ञ अनुराग अधिकारीले नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
वैज्ञानिक तथा कलाकार डा. निरञ्जन कोइरालाले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गर्दै प्रतियोगिताले नयाँ कलाकारलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
प्रतियोगितामा गायनतर्फ खेम लामा, करण तामाङ, सुजित क्षेत्री, उषा गुरुङ र प्रशान्त तामाङ निर्णायक रहनुहुने जनाइएको छ ।
नृत्यतर्फ उपेन्द्र गुरुङ, पुष्कर श्रेष्ठ, सुजित गुरुङ, पूजा गुरुङ, कविता पौडेल, दीपक परियार र सरिता दानकुटी निर्णायक रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मूल्याङ्कनमा निर्णायकको ४० प्रतिशत, भोटिङको ४० प्रतिशत र दर्शकको २० प्रतिशत अङ्कभार रहनेछ । यसरी कुल १०० अङ्कका आधारमा प्रतियोगीको मूल्याङ्कन गरिने आयोजकले जनाएको छ ।