सिन्धुली । कमलामाई नगरपालिका-६, माढी बजारस्थित गौमती माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ७ करोड ७७ लाख १ हजार २ सय ३४ रुपियाँ बराबरको अनुमानित बजेटसहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिका-६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको प्रमुख आतिथ्यतामा भदौ १९ गते आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपककुमार बुढाथोकीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयले आगामी आर्थिक वर्षमा शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री सिकाइ र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।
प्रधानाध्यापक बुढाथोकीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गुणस्तरीय, प्रविधिमैत्री र व्यावहारिक शिक्षालाई विद्यालयको मुख्य मार्गचित्रका रूपमा अघि सारिएको उल्लेख छ ।
नीति तथा कार्यक्रममा शिक्षक तथा कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम प्रदान गर्ने, कम्तीमा थप तीन ओटा स्मार्ट बोर्ड जडान गर्ने, विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तथा कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गर्ने योजना समेटिएको छ । त्यस्तै, प्रत्येक शिक्षकलाई ‘कक्षा हेरालो’ (मेन्टोर शिक्षक) को जिम्मेवारी दिने नीति पनि लिइएको छ ।
भौतिक पूर्वाधारतर्फ विद्यार्थीको चाप अत्यधिक रहेकाले ३० कोठे सुविधासम्पन्न भवन निर्माणका लागि भारतीय दूतावाससमक्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेस गर्ने योजना विद्यालयले अघि सारेको छ ।
छात्रावास निर्माण, खेलमैदान विस्तार, सरस्वती मन्दिर निर्माण सम्पन्न गर्ने तथा बालविकास केन्द्र (ईसीडी) का लागि छुट्टै खेल उद्यान निर्माण गर्ने कार्यक्रम पनि समेटिएको छ ।
विद्यालयले सीपमूलक तथा आयआर्जनसँग जोडिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। हाल सञ्चालनमा रहेको गणित विषयका शैक्षिक सामग्री उत्पादन गर्ने कारखाना र कपाल काट्ने सीप विकास तालिमलाई निरन्तरता दिँदै इन्जिनियरिङ, वायरिङ, प्लम्बिङ तथा मोबाइल मर्मतसम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिसिङले जानकारी दिनुभयो ।
विद्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल बजेटमध्ये सङ्घीय सरकारबाट ससर्त अनुदानमार्फत ५ करोड १ लाख ९ हजार रुपियाँ, कमलामाई नगरपालिकाबाट १८ लाख रुपियाँ, अभिभावक सहयोगबाट २ करोड ९ लाख रुपियाँ, अघिल्लो वर्षको मौज्दातबाट १४ लाख २२ हजार २ सय ३७ रुपियाँ तथा विद्यालय बस र अन्य आन्तरिक स्रोतबाट आम्दानी हुने अनुमान गरेको छ ।
खर्चतर्फ सरकारी अनुदानबाट शिक्षक तथा कर्मचारीको तलबभत्ताका लागि ४ करोड रुपियाँ, निजी स्रोतका शिक्षक तथा कर्मचारीका लागि ७६ लाख रुपियाँ, विज्ञान प्रवर्धन कार्यक्रमका लागि ४५ लाख रुपियाँ, विद्यालय बस सञ्चालन तथा मर्मतका लागि २५ लाख रुपियाँ, परीक्षा तथा मूल्याङ्कनका लागि १३ लाख रुपियाँ र दिवा खाजाका लागि १३ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।
त्यस्तै, कार्यसम्पन्न भई भुक्तानी हुन बाँकी दायित्वका लागि २७ लाख ७ हजार ७ सय १५ रुपियाँ विनियोजन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष उज्ज्वल कुमार थापाले विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर घिसिङले विद्यालयको विकासका लागि व्यवस्थापन समिति, शिक्षक, अभिभावक, समुदाय र स्थानीय सरकारबीचको साझा सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
शिक्षकअभिभावक सङ्घका अध्यक्ष सुरदबहादुर स्याङ्तानले घर र विद्यालयबिचको निरन्तर संवादबाट मात्रै बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
वि.सं. २०२४ सालमा स्थापना भएको गौमती माध्यमिक विद्यालयमा हाल २ हजार १ सय ८ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले पछिल्लो पाँच वर्षदेखि जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।
पछिल्लो माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयका दुई जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका थिए ।