मानव आवाज

२०८३ भदौ १९ गते
00: 00: 00
२०८३ भदौ १९ गते

प्यानलविहीन आठ उम्मेदवारलाई व्यवसायीको समर्थन

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारले घरदैलो अभियान तीव्र पारेका छन् ।

‘व्यवसायीको बलियो आवाज, साझा प्रतिबद्धता-संयुक्त सदस्यहरूको उम्मेदवारी’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई घरदैलोका क्रममा व्यवसायीहरूले साथ दिने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायीहरूले आफ्ना समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने काम उम्मेदवारहरूको रहेको भन्दै उनीहरूलाई सहयोग गर्ने बताएका छन् ।

कुनै पनि अध्यक्षका प्यानलमा नबसी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले पोखराका विभिन्न व्यापारिक क्षेत्रमा प्रचारप्रसार तथा घरदैलो अभियान सञ्चालन गरिरहनुभएको छ ।

पृथ्वीचोक, भैरवटोल, बागलुङ बसपार्क, सिर्जनाचोक, सभागृहचोकलगायतका क्षेत्रमा गरिएको घरदैलोका क्रममा व्यवसायी मतदाताहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारीको स्वागत गरेका छन् ।

व्यवसायीहरूले कुनै पनि प्यानलमा नबाँधिई स्वतन्त्र रूपमा उम्मेदवारी दिएकोमा उम्मेदवारहरूलाई धन्यवाद दिँदै आगामी अधिवेशनमा पनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सुझाव दिएका छन् ।

आफूहरू व्यवसायीका वास्तविक समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले एकजुट भएको भन्दै आठै जना उम्मेदवारले आफूहरूलाई मतदान गरी विजयी बनाउन व्यवसायी मतदातासँग आग्रह गरेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार