पोखरा । “सचेतना र ज्ञानको निर्णय, सुरक्षित भविष्यको निश्चय” भन्ने नारासहित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश शाखाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रममा आश्रित ८८ जनालाई भोजन गराएको छ ।
बीमा शिक्षा तथा सचेतना कार्यक्रमअन्तर्गत भदौ १७ गते पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित मानवसेवा आश्रममा आयोजित कार्यक्रममा कम्पनीका चिफ मार्केटिङ अफिसर सुशील चापागाईंले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा चापागाईंले संस्थाले नाफालाई मात्र प्राथमिकता नदिई निष्पक्षता, तटस्थता र स्वअनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै एक मानवले अर्को मानवको सेवामा हातेमालो गर्दै अघि बढ्नु प्रमुख कर्तव्य भएको बताउनुभयो ।
आईएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका उपप्रमुख सुरेश बरालले कम्पनीले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै आएको बताउनुभयो ।
गण्डकी प्रदेशका कर्पोरेट सेल्स प्रमुख कृष्ण पौडेलका अनुसार कम्पनीले आश्रमलाई करिब ५५ हजार रुपियाँ बराबरका स्वास्थ्य, खाद्यान्न तथा सरसफाइका सामग्रीसमेत हस्तान्तरण गरेको छ ।
२०७४ चैत १७ गतेदेखि सञ्चालनमा आएको छोरेपाटनस्थित मानवसेवा आश्रममा हाल ८१ जना आमा र सात जना आश्रित बालबालिका रहेका छन् । उनीहरूको सेवामा १२ जना कर्मचारी आबद्ध छन् ।