पोखरा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि कर्मफ्लाइट्स फाउन्डेसन नेपालले नुवाकोटमा करिब १४ लाख रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
फाउन्डेसनका निर्देशक प्रेमबहादुर कुँवरको नेतृत्वमा पोखराबाट तीन ओटा साना ट्रकमा राहत सामग्री नुवाकोट पुर्याइएको हो ।
तीन दिनसम्म बाढी प्रभावित तथा विस्थापित परिवारका लागि राहत वितरण गरी टोली २०८३ भदौ १६ गते पोखरा फर्किएको फाउन्डेसनले जनाएको छ ।
कुँवरका अनुसार ढुङ्गेबजार आसपास, त्रिशूली नदी करिडोर तथा विभिन्न अस्थायी होल्डिङ सेन्टर र आश्रयस्थलमा रहेका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको थियो ।
पहिलो दुई दिनमा मात्रै बिदुर नगरपालिका क्षेत्रका विभिन्न आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिकसहित २ सय ५० भन्दा बढी व्यक्तिले राहत सामग्री प्राप्त गरेको फाउन्डेसनले जनाएको छ ।
राहत सामग्रीमा चामल, दाल, चना, चिउरा, सातु, खानेतेल, चाउचाउ, बालबालिकाका लागि लिटो, त्रिपाल, कम्बल, महिला तथा बालबालिकाका कपडा, चप्पल, डायपर, टूथब्रस, टूथपेस्ट, नेलकटर, स्यानिटरी प्याड, टर्चलाइट, मोबाइल चार्जिङ सामग्री, मल्टिप्लग तथा खाना पकाउने भाँडाकुँडालगायत सामग्री छन् ।
बिदुर नगरपालिका-५ देविघाटस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको अस्थायी होल्डिङ सेन्टरमा ६० वटा त्रिपालसहित खाद्यान्न, कपडा, बालबालिकाका सामग्री तथा सरसफाइ सामग्री वितरण गरिएको थियो । उक्त वितरणको समन्वय जिल्ला समन्वय समिति सदस्य राजेन्द्र श्रेष्ठले गरेका थिए ।
त्यस्तै, बिदुर नगरपालिका-१ सिमटारस्थित आमाबुवा आश्रमको अस्थायी होल्डिङ सेन्टरमा रहेका २७ विस्थापित परिवारका १ सय ५० भन्दा बढी सदस्यलाई परिवारको आवश्यकताका आधारमा खाद्यान्न, त्रिपाल, कम्बल, कपडा, सरसफाइ सामग्रीलगायत राहत उपलब्ध गराइएको थियो ।
घरसमेत पूर्ण रूपमा गुमाएका पाँच परिवारलाई थाल, कप तथा खाना पकाउने भाँडाकुँडासमेत प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
बिदुर नगरपालिका-४ स्थित ज्येष्ठ नागरिक आश्रयस्थल र नुवाकोट कभर्ड हलमा रहेको अस्थायी होल्डिङ सेन्टरमा पनि त्रिपाल, कम्बल, खाद्यान्न, बालखाद्य, डायपर, टर्चलाइट, मोबाइल चार्जिङ तथा सरसफाइका सामग्री वितरण गरिएको थियो ।
बाढीका कारण विद्युत् आपूर्तिमा समस्या भएको बिदुरस्थित केन्द्रीय कारागारलाई एउटा जेनेरेटरसमेत उपलब्ध गराइएको जिल्ला समन्वय समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
राहत अभियानमा फाउन्डेसनका फिल्ड कोअर्डिनेटर राजु परियारले स्थलगत व्यवस्थापन तथा वितरणमा भूमिका निर्वाह गर्नुभएको थियो ।
कर्मफ्लाइट्सका आईटी अफिसर तथा मेटल फर नेपालका लायजन सुभाष पौडेलले संस्थागत समन्वय तथा सहयोग जुटाउन सहजीकरण गर्नुभएको थियो ।
राहत अभियानमा मेटल फर नेपाल यूकेको प्रमुख सहयोग रहेको फाउन्डेसनले जनाएको छ । मेटल फर नेपालका प्रमुख फ्लावर केसी र शिल्पा मास्केले स्थलगत तथा संस्थागत समन्वयमा भूमिका खेल्नुभएको थियो ।