मानव आवाज

२०८३ भदौ १७ गते
00: 00: 00
२०८३ भदौ १७ गते

रसुवा बाढी : सम्पर्कविहीन नगरवासीको खोजीमा कमलामाई नगरपालिकाको सहजीकरण

सिन्धुली । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोमा परी सम्पर्कविहीन भएका सिन्धुलीको कमलामाई नगरपालिकाका नगरवासीको खोजी तथा उद्धारका लागि नगरपालिकाले सहजीकरण गरिरहेको जनाएको छ ।

२०८३ भदौ १० गते आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका नगरवासी र उनीहरूका आफन्तलाई प्रभावित क्षेत्रमा पुगेर खोजी गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले यातायातको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

आफन्तको अवस्था बुझ्न तथा सम्भावित बाढीपहिरो प्रभावित व्यक्तिको खोजीमा सहभागी हुन चाहने परिवारका सदस्यलाई रसुवास्थित प्रभावित क्षेत्रसम्म पुग्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

बाढीपछि आफ्ना नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै नगरपालिकाले सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गरिरहेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार सकुशल उद्धार भएका नगरवासीलाई घर फर्काउन तथा दुःखद् रूपमा शव प्राप्त भएमा सुरक्षित रूपमा घरसम्म ल्याउन नगरपालिकाका सवारीसाधन परिचालन गरिएका छन् ।

आफ्ना आफन्तको अवस्था बुझ्न रसुवा जान चाहने परिवारजनका लागि आवश्यक सवारीसाधन र अन्य सहजीकरणको व्यवस्था नगरपालिकाले गरेको छ ।

नगरपालिकाले सकुशल उद्धार भई फर्किएका नगरवासीलाई प्रतिव्यक्ति १० हजार रुपियाँ र शव प्राप्त भएमा काजकिरिया तथा अन्त्येष्टिका लागि १५ हजार रुपियाँ सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको जनाएको छ ।

विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

“यो विपद्को घडीमा आफ्ना नगरवासीलाई एक्लै छोड्ने छैनौँ । खोजी, उद्धार, राहतदेखि घर फिर्तासम्म कमलामाई नगरपालिका सधैँ तपाईंहरूको साथमा रहनेछ ।”-उहाँले भन्नुभयो ।

नगरपालिकाका अनुसार केही परिवारजन आफ्ना आफन्तको अवस्था बुझ्न रसुवातर्फ प्रस्थान गरिसकेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार