सिन्धुली । सिन्धुलीमाडीस्थित भगवती आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालयको भगवती बालक्लवले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि एक लाख ३२ हजार ७ सय रुपियाँ आर्थिक सहयोग गरेको छ ।
बालक्लवमा आबद्ध विद्यार्थीले आफ्नै दैनिक खाजा खर्चबाट रकम बचत गरी सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
बालक्लवले सङ्कलन गरेको रकम २०८३ भदौ १६ गते सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयले जनाएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारका बालबालिकाको शिक्षासमेत प्रभावित भएको अवस्थामा उनीहरूको सहयोगका लागि बालक्लवले रकम संकलन गरेको हो ।
विद्यार्थीले दैनिक खाजाका लागि खर्च हुने रकममध्ये केही हिस्सा बचत गरी विपद्मा परेका बालबालिकाको सहयोगमा लगाएका हुन् ।
सानो उमेरमै व्यक्तिगत खर्च कटौती गरेर विपद् प्रभावितका लागि सहयोग जुटाउनु उदाहरणीय रहेको विद्यालयको भनाइ छ ।
विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सहयोगी भावना र मानवीय संवेदना विकास गर्ने उद्देश्यले बालक्लवमार्फत विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ ।
बालक्लवले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको विद्यालयको भनाइ छ ।
बालक्लवको यस अभियानले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा जोड्न सकिने उदाहरण प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।
विपद्को समयमा राज्य तथा विभिन्न सङ्घसंस्थासँगै विद्यार्थी र विद्यालयस्तरबाट पनि सहयोगका लागि पहल हुनुपर्ने सन्देश अभियानले दिएको विद्यालयको भनाइ छ ।