पोखरा । रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि पीडितको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिले राहत सहयोग जारी राखेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले भोटेकोशी र त्रिशूली नदीको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि ५० हजार रुपियाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
२०८३ भदौ १६ गते अनेरास्ववियु कास्कीका अध्यक्ष भोलानाथ पराजुलीको नेतृत्वमा पदाधिकारीहरूले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललाई डसना, चप्पल, खानेकुरालगायत सामग्री हस्तान्तरण गरेका हुन् ।
अनेरास्ववियु कास्कीमा आबद्ध विद्यार्थीहरूले स्वस्फूर्त रूपमा रकम सङ्कलन गरी राहत सामग्री खरिद गरेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
विपद्को समयमा पीडितको सहयोगमा सबै पक्षले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।
यसैगरी, पोखरा महानगरपालिका-२९ स्थित आदर्श युवा क्लबले आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्ये ४ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।
क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गर्नुभएको हो ।
पोखरा यातायात प्रालिले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिनुभयो ।
कास्की जिल्ला खेलकुद विकास समितिले १ लाख रुपियाँ राहत सहयोग गरेको छ । समितिका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष तिलक अधिकारी, सचिव अन्जु केसीलगायत पदाधिकारी तथा सदस्यहरूको एक वर्षको बैठक भत्तामा रकम थप गरी उक्त रकम सङ्कलन गरिएको हो ।
सङ्कलित रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसैगरी, पोखरा महानगरपालिका-६ बसुन्धरा मार्ग निवासी समाजसेवी तथा सामाजिक अभियन्ता दयानन्द पोखरेल (शङ्कर)को परिवारले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५० हजार रुपियाँ सहयोग गरेको छ ।
विपद्को कठिन घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै सहयोग गरेको पोखरेलले बताउनुभयो । उहाँले आफ्नो सहयोग सानो भए पनि सबैको सानोसानो योगदानले पीडित परिवारमा राहत र आशा थप्न सक्ने बताउनुभयो ।
माछापुच्छ्रे पोल्ट्री ग्रुप प्रालिले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ हजार १ सय रुपियाँ सहयोग गरेको सञ्चालक चुडामणि बरालले जानकारी दिनुभयो ।
विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पछिल्लो समय कास्कीलगायत विभिन्न जिल्लामा सङ्घसंस्था, व्यवसायी, सामाजिक अभियन्ता र सर्वसाधारणले स्वस्फूर्त रूपमा सहयोग गर्ने क्रम बढेको छ ।