काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गर्नुभएको छ ।
लामो समयको सोचविचारपछि आफूले यो निर्णय गरेको उहाँले सामाजिक सञ्जालमार्फत भावुक सन्देशमा बताउनुभएको छ ।
मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं आफ्नो शतप्रतिशत दिएको उल्लेख गर्दै अब नयाँ पुस्तालाई अवसर दिने समय आएको बताउनुभएको हो ।
राष्ट्रिय टोलीसँग बिताएका दुई दशकलाई स्मरण गर्दै उहाँले समर्थक, परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी र टोलीका पदाधिकारीप्रति आभार व्यक्त गर्नुभएको छ ।
‘मैले आफूभित्र भएको सबैथोक दिएँ । अब मसँग दिनका लागि केही बाँकी छैन ।’-मेस्सीले लेख्नुभएको छ । उहाँले अब मैदानभित्रबाट नभई बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने बताउनुभएको छ ।
मेस्सीले राष्ट्रिय टोलीसँग बिताएका समयलाई अविस्मरणीय क्षणका रूपमा स्मरण गर्दै अर्जेन्टिनी हुनुमा गर्व रहेको बताउनुभएको छ ।
यो उहाँको अर्जेन्टिना टोलीबाट दोस्रो संन्यास हो । यसअघि उहाँले २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि संन्यास घोषणा गरे पनि पछि निर्णय फिर्ता लिनुभएको थियो ।