मानव आवाज

२०८३ भदौ १६ गते
00: 00: 00
२०८३ भदौ १६ गते

रसुवा बाढीपीडितका लागि लायन्स क्लबद्वारा १३ लाख रुपियाँ बराबरको राहत

पोखरा । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी प्रदेशका ५२ ओटा लायन्स क्लबले करिब १३ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् ।

‘मानवताका लागि एकता’ भन्ने सन् २०२६/२७ को मूल नाराअनुसार क्लबहरूले एकद्वार प्रणालीमार्फत राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पुर्‍याएका हुन् ।

२०८३ भदौ १५ गते धादिङको गजुरी गाउँपालिका-२ मा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन रत्नप्रसाद पराजुलीले वडाध्यक्ष दोर्ण कँडेललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

पराजुलीका अनुसार करिब ८ देखि १० टन राहत सामग्री ट्रक तथा अन्य सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ ।

सडक अवरुद्ध भएका स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन पुग्न नसक्ने ठाउँमा स्थानीय साधन र पैदल यात्रामार्फत समेत राहत पुर्‍याइएको उहाँले बताउनुभयो ।

गजुरी गाउँपालिका- २ का वडाअध्यक्ष दोर्ण कँडेलले सामाजिक संस्थाले आफ्नो गाँस काटेर गरेको सहयोगको सहि सदुपयोग र वास्तविक पिडित परिवारले पाउनेमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँका अनुसार पहिरोले बाटो अवरुद्ध हुँदा हिँडेरै जाने तयारी ​कृष्णभीर तथा त्रिशूली नदी किनार आसपासका सडकमा पहिरो र कटानका कारण यातायात प्रभावित भएकाले टोलीले वैकल्पिक मार्ग अपनाएर आएको साथै सवारीसाधन पुग्न नसक्ने स्थानमा स्थानीय साधनको प्रयोग गर्ने र आवश्यकता अनुसार ९-१० किलोमिटर पैदल यात्रा तथा झोलुङ्गे पुल तरेरै भए पनि पीडित समक्ष पुगेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

पूर्व डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्यालका अनुसार गजुरी-२ का पहिरो प्रभावित १ सय २० परिवारका करिब ६ सय जनालाई लक्षित गरी एक महिनासम्म पुग्ने खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।

राहत प्याकेजमा चामल, दाल, तेल, नुन, चिउरा, चना, आँटा, चाउचाउ, साबुन, दाँत माझ्ने सामग्री, मसला, बाल्टिन, म्याटलगायत सामग्री छन् ।

फस्ट भिडीजी लायन किशोर बरालले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएकाले प्रभावितलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रम संयोजक तथा चिफ एड्भाइजर लायन शिवराज आचार्यले राज्य अप्ठ्यारोमा परेका बेला सामाजिक संस्थाले सहयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।

स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी वास्तविक पीडितको हातमा राहत पुर्‍याइएको आयोजकले जनाएको छ ।

यसैबिच, कास्कीको माछापुच्छ्रे गाउँपालिका-सार्दीखोलास्थित गण्डकी रेन्वो ट्राउट फार्मका सञ्चालक अमृत गुरुङ र लक्षिन गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २० हजार ५ सय ५ रुपियाँ सहयोग गर्नुभएको छ ।

माताताल बाराही सेवा समिति पोखराले पनि सोही कोषमा २ लाख २२ हजार २ सय २२ रुपियाँ सहयोग गरेको समितिकी सदस्य विविता मल्लले जानकारी दिनुभयो ।

सहारा क्लव पोखराले भोटेकोशी बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार ६ सय ४२ रुपियाँ जम्मा गरेको छ ।

सहारा क्लवका पदाधिकारी, पूर्व पदाधिकारी, संस्थापक तथा सदस्यहरुबाट सङ्कलन गरी बाढी पीडितलाई सहयोग गरेको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनु भयो ।

त्यसैगरी, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडाले २ लाख २२ हजार २ सय २२ रुपियाँ सहयोग गरेको छ।

पोखरास्थित कुमुदिनी होम्सले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ। भने फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले यसअघि नै ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ सहयोग गरिसकेको छ।

त्यसैगरी, सृजना विकास केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार १ सय रुपियाँ सहयोग गरिएको केन्द्रका अध्यक्ष चन्द्र गरीले जानकारी दिनु भयो ।

नागरिक समाज कास्कीका सदस्यहरुबाट आफ्नो तर्फबाट रु. ५१ हजार सहयोग गरिएको संस्थापक अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिनु भयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार