मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

डेभिज फल्स क्लबद्वारा प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपियाँ सहयोग

पोखरा । पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित डेभिज फल्स क्लबले बाढीपहिरोपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपियाँ सहयोग गरेको छ ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै क्लबले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको हो ।

क्लबका अध्यक्ष दीपक सुवेदीका अनुसार २०८३ भदौ ११ गते कोषमा २५ हजार रुपियाँ जम्मा गरिएको हो ।

अध्यक्ष सुवेदीले विपद्को कठिन समयमा पीडित नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु सामाजिक दायित्व भएको बताउनुभयो ।

उहाँले बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा नागरिक घाइते भएर उपचाररत रहेको, कतिपय परिवार घरबारविहीन भएको तथा आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन अवस्था रहेको उल्लेख गर्दै क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जानकारी दिनुभयो ।

क्लबले यसअघि पनि समुदाय, खेलकुद तथा कोरोना महामारीलगायत विभिन्न सामाजिक विपद्का समयमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष सुवेदीले अहिलेको विपद्मा गरिएको सानो सहयोगले प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबैलाई आआफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गर्दै मानवीय सेवामा जुट्न अपिल गर्नुभयो ।

क्लबका सचिव गणेश जिसीले विपद्का बेला भाषणभन्दा व्यवहार र कर्ममार्फत सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो-“हामी भाषणमा होइन, कर्ममा विश्वास गर्छौं । अहिले पीडित नागरिकलाई हाम्रो साथ र सहयोग आवश्यक छ । कसैले नगद, कसैले जिन्सी, लत्ताकपडा वा आवश्यक सामग्रीमार्फत सहयोग गर्न सक्छौँ ।”

क्लबले अझै सम्पर्कविहीन रहेका नागरिकको शीघ्र खोज तथा उद्धार, घाइतेको उपचार र जोखिममा रहेका नागरिकको सुरक्षाका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

साथै, प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा जुट्न देशभरका नागरिकलाई आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार