काठमाडौं । २०८३ भदौ १० गते आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि आफूले सकेको आर्थिक सहयोग गरेको गायिका रचना रिमालले बताउनुभएको छ ।
विपद्बाट कतिपयले आफन्त गुमाएको, कतिपय घरबारविहीन भएको तथा धेरै नागरिकको दैनिकी अस्तव्यस्त बनेको भन्दै उहाँले यस्तो कठिन परिस्थितिमा राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत तथा पुनर्स्थापनामा परिचालित भइरहेको उल्लेख गर्नुभएको छ ।
राज्यले आफ्नो सम्पूर्ण शक्ति विपद् व्यवस्थापनमा लगाइरहेको अवस्थामा नागरिकको पनि उत्तिकै जिम्मेवारी हुने भन्दै रिमालले विपद्मा परेका नागरिकको दुःखमा सकेको साथ दिनुपर्ने फेसबुकमार्फत बताउनुभएको छ ।
“देशका नागरिकको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावनासहित मेरो तर्फबाट पनि आफूले सकेको आर्थिक सहयोग गरेको छु ।” उहाँले भन्नुभएको छ ।
उहाँ हाल साङ्गीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहनुभएको छ । देशमा सिर्जित दुःखद परिस्थितिलाई मध्यनजर गर्दै आफूले तय गरेका साङ्गीतिक कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुभएको छ । (फोटोः रचना रिमालको फेसबुक पेजबाट)