मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

कृषि कार्यक्रमको स्थलगत अनुगमन, कृषकका समस्या र सम्भावना पहिचान

सिन्धुली कृषि विकास कार्यालय सिन्धुलीले जिल्लामा विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको अनुगमन तथा समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यक्रमबारे जानकारी गराउन स्थलगत अनुगमन गरेको छ ।

कार्यालयले २०८३ भदौ ९ गते कमलामाई नगरपालिका-३ चपौली तथा सुनकोशी गाउँपालिका-७ नागी र वडा नं. ५ बन्दीपुरमा सञ्चालन भइरहेका विभिन्न कृषि कार्यक्रम तथा कृषकले गर्दै आएको कृषि उत्पादनको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कृषकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, गुनासा र अपेक्षा सुन्नुका साथै कृषि विकास कार्यालयबाट प्राप्त सहयोगको प्रभावकारिताबारे जानकारी लिइएको कार्यालयले जनाएको छ ।

कृषकहरूले कार्यालयबाट प्राप्त सहयोगले कृषि व्यवसायमा उत्साह थपिएको भन्दै आगामी दिनमा थप प्राविधिक तथा आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।

कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जिल्लाको कृषि उत्पादनको सम्भावना, कृषकका समस्या तथा कार्यालयका कार्यक्रमको प्रभावकारिता बुझ्न स्थलगत अनुगमन गरिएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको नीति निर्माण तहमा रहेका व्यक्तिलाई कृषि उत्पादनका सम्भावनायुक्त क्षेत्रको प्रत्यक्ष जानकारी गराउने, कृषकका गुनासा सुन्ने, कार्यालयका कमीकमजोरी पहिचान गर्ने तथा आगामी कार्यक्रमका लागि आवश्यक पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको हो ।

“कृषि उत्पादन राम्रो भइरहेका क्षेत्रको वास्तविक अवस्था हेरेर जिल्लालाई कृषिको क्षेत्रमा थप अगाडि बढाउन आवश्यक नीति निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पनि अनुगमन गरिएको हो ।”-अधिकारीले भन्नुभयो ।

अनुगमन टोलीले कमलामाई नगरपालिका-३ चपौलीमा मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको मौरीपालन, सुनकोशी गाउँपालिका-७ नागीमा फलफूल प्रवर्धन कार्यक्रम तथा वडा नं. ५ बन्दीपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भइरहेका कृषि गतिविधिको अवलोकन गरेको थियो ।

कमलामाई नगरपालिका-३ चपौलीका कृषक कृष्ण नेपालीले सञ्चालन गर्नुभएको मौरीपालन कार्यक्रमको समेत अनुगमन गरिएको थियो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८० देखि लागू गरेको मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा समूहमा आबद्ध हुनुपर्ने अनिवार्यता छैन । व्यक्ति स्वयम्‌ले समेत कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ९० प्रतिशत अनुदान उपलब्ध गराउने र लाभग्राहीले १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

कार्यक्रमअन्तर्गत कृषक नेपालीलाई मौरीसहितका आठ ओटा घार, तीन ओटा खाली घार तथा मह काढ्न आवश्यक उपकरण उपलब्ध गराइएको अधिकारीले जानकारी दिनुभयो ।

नेपालीले मौरीपालनका लागि थप तालिम आवश्यक रहेको बताएपछि जिल्लाका मौरीपालक कृषकलाई समेटेर तालिम सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अनुगमन टोलीमा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रविन कोइराला, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख निर्मल दाहाल, बागवानी विकास केन्द्र सिन्धुलीका प्रमुख दीपेन्द्रमणि लामिछाने, कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नरेश देवकोटा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सिन्धुलीका निमित्त प्रमुख विनयबाबु कोइराला, उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्रबहादुर थापामगर र कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रबन्धक भुराजपति श्रेष्ठलगायतको सहभागिता थियो ।

त्यस्तै, सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहाललगायतको पनि अनुगमनमा सहभागिता रहेको कार्यालयले जनाएको छ ।

सुनकोशी गाउँपालिकाकी अध्यक्ष दाहालले कृषकको साथमा स्थानीय सरकार रहेको बताउँदै कृषकका समस्या समाधान गर्न पालिका सधैँ तत्पर रहेको बताउनुभयो ।

कृषि उत्पादन वृद्धि, कृषकको आयआर्जन तथा आत्मनिर्भरता बढाउन पालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार