मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

पोखरा उद्योग वाणिज्य सङ्घका आठ सदस्य उम्मेदवारले बनाए चुनावी परिचालन समिति

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदका आठ उम्मेदवारले संयुक्त रूपमा चुनावी परिचालन समिति गठन गरेका छन् ।

‘व्यवसायीको बलियो आवाज, साझा प्रतिबद्धता, संयुक्त सदस्यहरूको उम्मेदवारी’ भन्ने नारासहित गठन गरिएको समितिको संयोजकमा सूर्यराज घिमिरे रहनुभएको छ ।

समितिको प्रचारप्रसार संयोजकमा मनोहरि पौडेल, वस्तुगत समन्वय संयोजकमा नवीन नापित, रुट व्यवस्थापन संयोजकमा अमृत पोखरेल, स्वयंसेवक परिचालन संयोजकमा भानुभक्त अधिकारी, सचिवालय व्यवस्थापन संयोजकमा राम कँडेल, अर्थ व्यवस्थापन संयोजकमा दुर्गा बराल र यातायात व्यवस्थापन संयोजकमा कमल सुनार रहनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको विधानअनुसार कार्यसमिति सदस्य खुलातर्फ १० जना निर्वाचित हुने व्यवस्था छ ।

सदस्य पदका आकांक्षीबिच भएको छलफलपछि आठ उम्मेदवार एकजुट भई अध्यक्ष तथा पदाधिकारीका साझा कार्यसमिति सदस्य उम्मेदवारका रूपमा प्रस्तुत हुने सहमति भएको संयोजक घिमिरेले जानकारी दिनुभयो ।

संयुक्त उम्मेदवारीसँगै व्यवसायीका घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धताबारे जानकारी गराउने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।

कार्यसमिति सदस्य पदका संयुक्त उम्मेदवारमा अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरि पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारी रहनुभएको छ ।

प्रचारप्रसार संयोजक तथा सदस्य उम्मेदवार मनोहरि पौडेलले आम पोखरेली उद्योगी-व्यवसायीको चाहनाअनुसार निर्वाचनमा विजय हासिल गर्ने मात्र नभई पोखरा उद्योग वाणिज्य सङ्घलाई थप बलियो, एकताबद्ध र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने उद्देश्य रहेको बताउनुभयो ।

उहाँले निर्वाचनपछि पनि आपसी सहकार्यलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिँदै साझा घोषणापत्र, एउटै एजेन्डा र स्पष्ट सन्देशसहित सङ्घका सम्पूर्ण सदस्यसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिने बताउनुभयो ।

यसैबीच, पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशनका क्रममा केही उम्मेदवारको उम्मेदवारीविरुद्ध परेको उजुरीलाई निर्वाचन समितिले पूर्वाग्रही ढङ्गले कायम राखेको भन्दै आठ सदस्य उम्मेदवारले आपत्ति जनाएका छन् । उनीहरूले निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य बनाउन माग गरेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार