मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

नाट्टा गण्डकीको अध्यक्षमा पौडेल निर्वाचित

पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अध्यक्षमा सङ्गीता पौडेल निर्वाचित हुनुभएको छ ।

पोखरामा सम्पन्न नाट्टा गण्डकीको ३१औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अध्यक्ष पदका प्रतिस्पर्धी कमला गिरीलाई ४४ मतले पछि पार्दै पौडेल निर्वाचित हुनुभएको हो । पौडेलले ९३ मत प्राप्त गर्दा गिरीले ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ईश्वर चिलवालले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राजेश पहारी, द्वितीय उपाध्यक्षमा विद्याराज आचार्य, महासचिवमा ताराप्रसाद गौतम, सचिवमा सुवास पहारी, कोषाध्यक्षमा छविरमण पौडेल र सहकोषाध्यक्षमा पदमराज आचार्य निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सङ्‌गीता पौडेल

अधिवेशनलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन विकास र प्रवर्धनका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले पर्यटन व्यवसायीलाई आचारसंहिता र पेसागत मर्यादा कायम राख्न आग्रह गर्दै पर्यटनलाई लेकसाइडमा मात्र केन्द्रित व्यवसायका रूपमा हेर्ने बुझाइ परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख आचार्यले पोखरा घरमा रहेको पर्यटन सूचना केन्द्रमा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषा बोल्न सक्ने सहजकर्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पर्यटन बहुआयामिक क्षेत्र भएकाले यसको विकासका लागि प्रशासन र सुरक्षा निकायबाट पर्यटन व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नाट्टाका केन्द्रीय अध्यक्ष भरतजङ्ग पाण्डे, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, पूर्व बोर्ड सदस्य तथा पर्यटन व्यवसायी बासुदेव त्रिपाठी, नाट्टा कोशी प्रदेशका पुण्यप्रसाद भट्टराई, मधेस प्रदेशका संस्थापक अध्यक्ष मोहन शर्मा, लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा, सुदूरपश्चिम प्रदेशका पदमसिंह, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नाट्टा गण्डकीले पर्यटन क्षेत्रको सुधार, पोखराको पर्यटन प्रवर्धन र व्यवसायीको हकहितका लागि आगामी दिनमा देखिने गरी काम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

यसैबिच यस वर्षको ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ स्याङ्जाको पुतलीबजार नगरपालिका-७ का सुजन थापालाई प्रदान गरिएको छ ।

जिरो पोइन्ट ट्राभल्स एन्ड टुर्सका वरिष्ठ टिकटिङ अफिसर थापालाई नगद १० हजार रुपियाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

नाट्टा गण्डकीका पूर्वअध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहरा सिग्देलको स्मृतिमा १ लाख ११ हजार रुपियाँको अक्षयकोष स्थापना गरी पुरस्कार सुरु गर्नुभएको हो ।

यसअघि देवराज देवकोटा, अशोक पौडेल, नीराजन कुँवर, रामप्रसाद दुवाडी र चिरञ्जीवी काफ्ले उक्त पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

नाट्टा गण्डकीमा आबद्ध सदस्य कम्पनीमध्ये लामो समयदेखि कार्यरत एक कर्मचारीलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ।

यसैगरी संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, नेपाल टीका ट्राभल्स प्रालिका सञ्चालक टीका पौडेल र तिलिचो टुर्स एन्ड ट्राभल्सका सञ्चालक नरेश भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा नाट्टा गण्डकीका नयाँ सदस्यलाई सदस्यतापत्र र पिनसमेत वितरण गरिएको थियो ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सङ्गीता पौडेलले स्वागत मन्तव्य र महासचिव चेतबहादुर कार्की (चेतन)ले सञ्चालन गर्नुभएको थियो ।

नाट्टा गण्डकीमा हाल १ सय ६२ ओटा टुर एन्ड ट्राभल्स कम्पनी आबद्ध रहेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार