काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तिब्बतमा हिमपहिरो जाँदा भोटेकोशीमा भीषण बाढी आएको अनुमान गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले यही अनुमान गरिएको तर आधिकारिक पुष्टि नभएको जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो-‘तिब्बतमा हिमपहिरो जाँदा भोटेकोशीमा भीषण बाढी आएको अनुमान छ । तर, आधिकारिक पुष्टि हुन सकेको छैन । हामीले चीन सरकारसँग बुझ्ने प्रयास गरिहेका छौँ ।’
रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको विवरण भने आइसकेको छैन ।
रसुवाका पत्रकार हेमनाथ खतिवडाले दिनुभएको जानकारी अनुसार क्षतिको कुनै विवरण पनि सङ्कलन भइसकेको छैन, बाढीको बहाव देखेर स्थानीय आत्तिएका छन् भने वातावरण त्रसित रहेको छ ।
नुवाकोटबाट पत्रकार नवदीप श्रेष्ठले विदुर बजार भन्दा तलको ढुङ्गेबजार नामिमेटी भएको बताउनुभएको छ । (फोटोः नुवाकोटको ढुङ्गे बजार)