मानव आवाज

२०८३ भदौ १० गते
00: 00: 00
२०८३ भदौ १० गते

सामाजिक सेवा इकाइबाट २४४ जनाले लिए निःशुल्क तथा सहुलियतमा उपचार

सिन्धुली । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सिन्धुली अस्पतालमा सञ्चालित सामाजिक सेवा इकाइबाट आर्थिक वर्ष २०८२/८३ मा २ सय ४४ जनाले निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा लिएका छन् ।

तर, सेवा लिन आउने प्रवृत्तिका कारण वास्तविक रूपमा सहयोग आवश्यक पर्ने नागरिकसम्म सेवा पुग्न अझै चुनौती रहेको सामाजिक सेवा इकाइले जनाएको छ ।

सामाजिक सेवा इकाइकी सहजकर्ता सकुन्तला रिसालका अनुसार सेवा लिन आउने अधिकांशले सोधपुछ तथा वडा कार्यालयको सिफारिस लिएर आउने गरेका छन् ।

सिफारिसका आधारमा सेवा लिन आउनेको सङ्ख्या बढे पनि साँच्चिकै आर्थिक रूपमा कमजोर तथा असहाय नागरिकलाई भने सामाजिक सेवा इकाइबाट उपलब्ध सुविधाबारे पर्याप्त जानकारी नभएको उहाँको भनाइ छ ।

“सिफारिस लिएर आउने धेरै हुनुहुन्छ, तर साँच्चिकै गरिब र असहाय बिरामीले यो सेवा पाएका छैनन् ।”-रिसालले भन्नुभयो-“वास्तविक रूपमा सेवा आवश्यक पर्ने बिरामीले सामाजिक सेवा इकाइमा सम्पर्क गर्नुपर्छ ।”

उहाँका अनुसार सामाजिक सेवा इकाइले बिरामीको अवस्था र आर्थिक स्थिति हेरेर उपचार खर्चमा सहयोग गर्ने गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै इकाइमार्फत १० लाख ६५ हजार ३ सय ६७ रुपियाँ बराबरको उपचार सेवा प्रदान गरिएको छ ।

एक वर्षको अवधिमा सेवा लिएका २ सय ४४ जनामध्ये १ सय २१ जना अस्पतालमा भर्ना भएका थिए ।

सेवा लिनेमा १ सय १२ जना जनजाति, ६२ जना दलित, ५४ जना बाहुन/क्षेत्री, १५ जना मधेसी र एक जना मुस्लिम समुदायका रहेका छन् ।

त्यसैगरी, १२ जना अन्य जिल्लाबाट आएका र ६४ जना गाउँबाट आएका बिरामीले समेत सामाजिक सेवा इकाइबाट सेवा लिएका छन् । ५६ जना आकस्मिक बिरामी र ६७ जना बहिरङ्ग सेवाका बिरामीले इकाइबाट सेवा पाएका छन् ।

यस अवधिमा ४२ जना बिरामीलाई भने सिन्धुली अस्पतालबाट अन्य स्वास्थ्य संस्थामा उपचारका लागि रिफर गरिएको रिसालले जानकारी दिनुभयो ।

अस्पतालमा उपचार सम्भव नभएका वा थप विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई अवस्था हेरेर अन्यत्र रिफर गरिएको उहाँले बताउनुभयो ।

सामाजिक सेवा इकाइबाट सेवा लिनेमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकाका नागरिकको सङ्ख्या बढी रहेको रिसालले जानकारी दिनुभयो ।

रिसालले सामाजिक सेवा इकाइको सेवा विस्तार तथा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

स्थानीय तहहरूले इकाइलाई आवश्यक सहयोग गर्नुका साथै आफ्ना नागरिकलाई यसबारे जानकारी गराउन सके आगामी दिनमा अझ धेरै विपन्न तथा असहाय बिरामीलाई उपचारमा सहयोग गर्न सकिने उहाँको भनाइ छ ।

“स्थानीय तहहरूले सामाजिक सेवा इकाइलाई आवश्यक सहयोग र समन्वय गरिदिए आगामी वर्षमा धेरै बिरामीलाई उपचारमा सहयोग गर्न सकिन्छ ।”-उहाँले थप्नुभयो ।

स्थानीय तहले वडास्तरसम्म सामाजिक सेवा इकाइबाट पाइने सुविधाबारे जानकारी पुर्‍याउन सके वास्तविक लाभग्राही पहिचान गर्न र उनीहरूलाई सेवा लिन अस्पतालसम्म ल्याउन सहज हुने उहाँले बताउनुभयो ।

सामाजिक सेवा इकाइबाट सेवा लिनेको सङ्ख्या भने वर्षअनुसार फरक देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १ सय ९० जनाले सेवा लिएकोमा २०८०/८१ मा ३ सय ३२ र २०८१/८२ मा ३ सय ९ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष २०८२/८३ मा भने २ सय ४४ जनाले सेवा लिएका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार