पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३६ औँ महाधिवेशन नजिकिँदै गर्दा चुनावी चर्चा बढेको छ ।
सङ्घका पदाधिकारी तथा सदस्य पदमा हुने प्रतिस्पर्धामध्ये उद्योगतर्फको उपाध्यक्ष पदको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ ।
उद्योगतर्फको उपाध्यक्ष पदमा वर्तमान कार्यसमिति सदस्यद्वय ललितबहादुर कुँवर र सौगात थापा आमनेसामने हुनुभएको छ ।
दुवै जना गोकर्ण कार्की नेतृत्वको वर्तमान कार्यसमितिका सदस्य हुनुहुन्छ । यसअघि पनि दुवैले सङ्घमा जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
वर्तमान उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको छ ।
वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र पूर्वमहासचिव अर्जुन पोखरेल भने प्यानलविना नै प्रतिस्पर्धामा हुनुहुन्छ ।
अघिल्लो कार्यसमितिदेखि नै सक्रिय
कुँवर र थापा दुवै जना वर्तमान कार्यसमितिमा निर्वाचित भएर पहिलोपटक प्रतिनिधित्व गर्नुभएको हो । त्यसअघि पवन प्रजापति नेतृत्वको कार्यकालमा दुवै जना मनोनित भएर सङ्घका विभिन्न जिम्मेवारीमा रहनुभएको थियो ।
थापा मनोनित कार्यसमिति सदस्यका रूपमा सक्रिय हुनुहुन्थ्यो भने कुँवर सांस्कृतिक उपसमितिलगायतका जिम्मेवारीमा हुनुहुन्थ्यो ।
वर्तमान कार्यसमितिमा कुँवरले दुईपटक मेलाको सांस्कृतिक समितिको संयोजक भएर विभिन्न सहरमा पुगेर मेला आयोजनाका लागि सहयोग जुटाउने अभियानमा समेत सक्रिय भूमिका खेल्नुभएको थियो ।
व्यवसायको प्रकृतिका हिसाबले पनि दुवैको पृष्ठभूमि केही हदसम्म मिल्दोजुल्दो छ । होटल, कृषि, रियलस्टेटलगायत विभिन्न व्यवसायमा आबद्ध कुँवरलाई सरल र मिलनसार युवा व्यवसायीका रूपमा चिनिन्छ ।
उहाँ होटल लुना, लालुपाते कृषि फर्म, आभाष ट्रेडर्सलगायत व्यवसायिक प्रतिष्ठानमा संलग्न हुनुहुन्छ । त्यसैगरी शीतल चौतारी लायन्ससहित विभिन्न सङ्घसंस्था तथा सहकारीमा समेत उहाँ आबद्ध हुनुहुन्छ ।
त्यस्तै थापा हस्पिटालिटी, पर्यटन र रियलस्टेटलगायत व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ होटल बगैँचा, अंशुभरा ग्रुप, पोखरा ट्रेड मललगायत व्यवसायिक प्रतिष्ठानसँग आबद्ध हुनुहुन्छ भने साथीसहित युवा उद्यमी मञ्चलगायत विभिन्न सङ्घसंस्थामा पनि सक्रिय हुनुहुन्छ ।
राजनीतिक पृष्ठभूमि पनि उस्तै
जातीय, राजनीतिक तथा व्यवसायिक पृष्ठभूमिका हिसाबले पनि दुवै उम्मेदवारलाई केही हदसम्म समान मानिन्छ । दुवै जना नेपाली कांग्रेससँग निकट मानिनुहुन्छ ।
कुँवर कांग्रेसका विभिन्न भ्रातृ संस्थामार्फत राजनीतिक रूपमा समेत परिचित हुनुहुन्छ ।
थापाको राजनीतिक पृष्ठभूमिमा भने पारिवारिक प्रभाव महत्वपूर्ण देखिन्छ । उहाँका पिता बिन्दुकुमार थापा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
बिन्दुकुमार थापा पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुने क्रममा नेपाली कांग्रेससँग जोडिनुभएको थियो ।
त्यसपछि छोटो समयमै उहाँ कांग्रेसबाट दुईपटक गण्डकी प्रदेशसभा सदस्य तथा पटकपटक प्रदेश मन्त्री बन्न सफल हुनुभयो ।
सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका बिन्दुकुमार थापा यसपटकको महाधिवेशनमा उम्मेदवार चयनका विषयमा भएको छलफलमा पनि निर्णायक भूमिकामा रहेको बताइन्छ ।
सङ्घको अध्यक्षमा बलराम आचार्यलाई उम्मेदवार बनाउने निर्णयमा उहाँसमेत सहभागी हुनुहुन्थ्यो ।
तर, आचार्यको प्यानलमा छोरा सौगात थापालाई उम्मेदवार बनाउने अवस्था नरहेपछि मनोनयनको अघिल्लो दिन थापाले छोरा सौगातलाई अध्यक्ष पदका अर्का उम्मेदवार शोभा गौतमको प्यानलबाट उद्योग उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।
कुँवरको अग्रिम तयारी, थापाको अन्तिम प्रवेश
कुन पदमा कसले उम्मेदवारी दिने भन्ने विषयमा सङ्घका पदाधिकारी तथा सदस्यहरूबिच प्रारम्भिक छलफल चलेको थियो ।
सोही क्रममा कुँवरले व्यक्तिगत रूपमा र प्यानलका तर्फबाट समेत आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको थियो ।
चुनावी चर्चा सुरु भएसँगै कुँवरसहित दिनेशचन्द्र बास्तोला, मनोजकुमार श्रेष्ठ, सुदीप प्रधानाङ्ग, प्रदीप राजभण्डारी र देवेन्सन प्रजुले संयुक्त प्यानल बनाएर बलराम आचार्यको नेतृत्वमा चुनावमा जाने प्रतिबद्धता जनाउनुभएको थियो ।
थापाले भने आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा लामो समयसम्म औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थिएन ।
अन्तिम अवस्थामा उहाँले आफूलाई शोभा गौतम प्यानलबाट उद्योग उपाध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको हो ।
अघिल्लो निर्वाचनमा कुँवर अगाडि
अघिल्लो महाधिवेशनको मतपरिणामले पनि दुई उम्मेदवारबिचको प्रतिस्पर्धालाई रोचक बनाएको छ । कुल २ हजार २ सय ५१ मतमध्ये ललितबहादुर कुँवर १ हजार ५ सय ३९ मत प्राप्त गर्दै कार्यसमिति सदस्यमा सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको थियो ।
त्यसै निर्वाचनमा सौगात थापाले १ हजार ४ सय ९४ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित हुनुभएको थियो ।
यस हिसाबले कुँवरले थापालाई ४५ मतले पछि पार्नुभएको थियो । १० जना सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा कम मत पाउनेले १ हजार ३ सय मत पाएका थिए ।
यसपटक भने अघिल्लो निर्वाचनजस्तो १० जनामध्ये बढी मत ल्याएर कार्यसमितिमा पुग्ने प्रतिस्पर्धा छैन । उद्योग उपाध्यक्ष पदमा कुँवर र थापाबिच सीधा प्रतिस्पर्धा हुँदैछ ।
कसले कति समय दिए ?
यसपटकको प्रतिस्पर्धामा अघिल्लो निर्वाचनको मतपरिणामसँगै दुवै उम्मेदवारले सङ्घमा गरेको योगदान र दिएको समय पनि निर्णायक बन्न सक्ने देखिन्छ ।
सङ्घले सार्वजनिक गरेको विवरणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको बैठक र विभिन्न कार्यक्रममा सहभागिताको तथ्याङ्क उल्लेख गरिएको छ । सोही विवरणअनुसार दुई वर्षे कार्यकालमा कार्यसमितिका ३१ ओटा बैठक भएका छन् ।
तीमध्ये ललित कुँवर २५ ओटा बैठकमा सहभागी हुनुभएको छ । उहाँको उपस्थिति ८० प्रतिशत रहेको छ ।
सौगात थापा भने ३१ मध्ये पाँच ओटा बैठकमा मात्र सहभागी भएको विवरणमा उल्लेख छ, जुन करिब १६ प्रतिशत हो ।
त्यसैगरी सङ्घले सोही अवधिमा आयोजना गरेका ९५ ओटा विभिन्न कार्यक्रममा कुँवर ४५ ओटा कार्यक्रममा सहभागी हुनुभएको छ । यो कुल कार्यक्रमको करिब ४७ प्रतिशत हो ।
थापा भने चार ओटा कार्यक्रममा मात्र सहभागी भएको विवरणमा उल्लेख छ, जुन ५ प्रतिशतभन्दा पनि कम हो ।
यही तथ्याङ्कलाई आधार बनाएर मतदाताले उम्मेदवारको संस्थागत सक्रियता, समय र योगदानको मूल्याङ्कन गर्न सक्ने देखिन्छ ।
अन्ततः कुँवर र थापामध्ये उद्योग उपाध्यक्षका रूपमा सङ्घका लागि को बढी उपयोगी हुन्छ भन्ने निर्णय मतदाताको हातमा छ ।
दुवैको व्यवसायिक र राजनीतिक पृष्ठभूमि तथा अघिल्लो कार्यकालको अनुभव समान रूपमा चर्चामा रहे पनि संस्थालाई कसले कति समय दियो, कति सक्रिय रह्यो र आगामी दिनमा के योगदान गर्न सक्छ भन्ने प्रश्नले यसपटकको मतपरिणाममा प्रभाव पार्ने देखिन्छ ।