मानव आवाज

२०८३ भदौ ९ गते
00: 00: 00
२०८३ भदौ ९ गते

प्रधानमन्त्रीलाई प्रश्न सोध्दै ११ सांसद, भदौ १० गते जबाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिनुहुने कार्यतालिका छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि ११ सांसदले प्रश्न दर्ता गराएका जनाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय निर्धारण गर्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो । तोकिएको समयभित्र ११ ओटा प्रश्न दर्ता भएका छन् ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले) बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट हर्कराज राईले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्न प्रश्न दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुश्बु ओलीले प्रश्न दर्ता गराउनुभएको संसद् सचिवालयले जनाएको छ ।

सांसदहरूले दर्ता गराएका प्रश्नमाथि २०८३ भदौ १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा औपचारिक रूपमा प्रधानमन्त्री शाहले जबाफ दिनुहुनेछ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसदहरूले सरकारको कामकारबाही, समसामयिक विषय तथा सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने तयारी गरेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार