सिन्धुली । नजिकिँदै गरेका चाडपर्वको ठिक्क अगाडि सिन्धुलीलगायत देशभरका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको पाइएको छ ।
खाद्यान्न, तरकारी, फलफूल, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको मूल्य दिनप्रतिदिन अनियन्त्रित रूपमा वृद्धि हुँदा आम उपभोक्ताको ढाड सेकिएको अवस्था छ ।
चाडपर्व नजिकिएसँगै बजारमा खाद्यान्न तथा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। व्यवसायीहरूले मनपरी ढङ्गले मूल्य निर्धारण गर्दा सर्वसाधारणको भान्सा महङ्गिएको छ ।
एकदुई महिनाको अवधिमा चामल, दाल, तोरीको तेल र गेडागुडीमा १५ देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएको व्यापारीहरूले स्वीकार गरेका छन् ।
त्यसैगरी, आलु, प्याज, गोलभेडा र हरियो तरकारीको मूल्यसमेत तेब्बरसम्म वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ ।
सिन्धुलीका खुद्रा बजारमा चाडपर्वलाई लक्षित गरी खाद्यान्न तथा फलफूलको मूल्यसमेत बढाइएको पाइएको छ ।
व्यापारीहरूले भने भन्सार दरमा वृद्धि, इन्धनको मूल्यवृद्धिका कारण बढेको ढुवानी भाडा तथा मनसुनका कारण मुख्य राजमार्गमा आएको पहिरोले आपूर्ति शृङ्खला प्रभावित भएकाले मूल्य बढेको बताएका छन् ।
तर, उपभोक्ता अधिकारकर्मीहरूका अनुसार आपूर्तिमा आएको सामान्य सङ्कुचनको मौका छोपेर बिचौलिया र कालोबजारी गर्नेहरूले कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मुनाफा असुलिरहेका छन् ।
बजारमा वस्तुको मौज्दात पर्याप्त हुँदाहुँदै पनि सिन्डिकेट र मूल्य कार्टेलिङका कारण उपभोक्ता मारमा परेको उनीहरूको भनाइ छ ।
सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमन तीव्र पारिएको दाबी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन ।
खुद्रा व्यापारी र उपभोक्ताका अनुसार अनुगमन टोलीको उपस्थिति मौसमी र औपचारिकतामा मात्र सीमित हुँदा कारबाहीको प्रभावकारितासमेत कमजोर देखिएको छ ।
सहुलियत मूल्य पसलहरूको दायरा विस्तार हुन नसक्दा र पहुँच सीमित हुँदा निम्न तथा मध्यम वर्गीय परिवारले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन् ।
कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार सरकारले तत्काल मुख्य भन्सार नाका तथा राजमार्गमा ढुवानी सहज बनाउनुका साथै कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने बिचौलियामाथि कडा कानुनी कारबाही गर्न आवश्यक छ ।
सरकारले प्रभावकारी कदम नचाले यस पटकको चाडपर्व आम नेपालीका लागि आर्थिक रूपमा थप कष्टकर बन्ने नगरप्रमुख पोखरेलको भनाइ छ ।