सिन्धुली । कमलामाई नगरपालिका-५, फोस्रेटारस्थित जनज्योति माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
विद्यालयको सभाहलमा भदौ ५ गते आयोजित कार्यक्रममा प्रधानाध्यापक योगेन्द्र अधिकारीले विद्यालय व्यवस्थापन समितिसमक्ष वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।
‘गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान जनज्योति माविको आफ्नै पहिचान’ भन्ने मूल ध्येयका साथ प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विस्तार, प्रविधिमैत्री सिकाइ तथा व्यावहारिक र प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा प्रस्तुत गर्दै विद्यालयले तय गरेका ५९ वटा नीति तथा लक्ष्यमध्ये ५३ ओटा कार्यान्वयन भएको र ८९.८३ प्रतिशत कार्यप्रगति हासिल गरेको जानकारी दिइएको थियो ।
गत आर्थिक वर्षमा विद्यालयले एसईई परीक्षामा ९४.८७ प्रतिशत नतिजा हासिल गर्दै सामुदायिक विद्यालयतर्फ छात्रामा जिल्लामै प्रथम स्थान प्राप्त गरेको जनाएको छ ।
त्यस्तै, कक्षा १० सम्म ३२१ जना नयाँ विद्यार्थी भर्ना भएको, एआई तथा साइबर सुरक्षासम्बन्धी तालिम सञ्चालन गरिएको र १८ महिने निःशुल्क भेटेरिनरी कक्षा सञ्चालन गरिएको विद्यालयको अभिलेखमा उल्लेख छ ।
आर्थिक वर्ष २०८३/०८४ का लागि विद्यालयले विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शैक्षिक गुणस्तर सुधारअन्तर्गत कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन, साप्ताहिक सिकाइ परीक्षण, नियमित गृहकार्य तथा परियोजना कार्यको अनुगमन र एसईई तथा कक्षा १२ को नतिजा सुधार योजना अघि सारिएको छ ।
पूर्वाधार तथा व्यवस्थापनतर्फ सिद्धबाबा भवनको दोस्रो तलामा आधुनिक फर्निचर र एसीसहित ६ वटा कक्षा कोठा निर्माण गरी कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषय अङ्ग्रेजी माध्यमबाट सञ्चालन गर्ने योजना विद्यालयले अघि सारेको छ ।
विद्यालयका सम्पूर्ण कार्यलाई डिजिटल प्रणालीमा लैजान छुट्टै मोबाइल एप निर्माण गर्ने, दुईवटा डिजिटल डिस्प्ले बोर्ड जडान गर्ने तथा विद्यार्थीको अनुपस्थिति दर घटाउन कक्षा शिक्षकमार्फत ह्वाट्सएप समूह सञ्चालन गर्ने नीति लिइएको छ ।
व्यावहारिक तथा प्राविधिक शिक्षातर्फ हेफर इन्टरनेसनलको सहयोगमा अत्याधुनिक गाईगोठ निर्माण गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई अघि बढाउने तथा १८ महिने निःशुल्क भेटेरिनरी कक्षालाई निरन्तरता दिने योजना रहेको विद्यालयले जनाएको छ ।
त्यसैगरी, जनज्योति रेकर्डिङ स्टुडियो सञ्चालन गर्ने, आधुनिक वाटर फाउन्टेन निर्माण गर्ने, अपाङ्गता आवासीय भवनमा आधुनिक अतिथि कक्ष बनाउने तथा सङ्गीत र योग कक्षा सञ्चालनका लागि हल व्यवस्थापन गर्ने कार्यक्रम पनि नीति तथा योजनामा समेटिएको छ ।
शिक्षा नियमावली, २०५९ तथा नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका, २०७४ बमोजिम तर्जुमा गरिएको नीति, कार्यक्रम तथा बजेट विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएपछि प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने विद्यालयको योजना छ ।