मानव आवाज

२०८३ भाद्र ५ गते
00: 00: 00
२०८३ भाद्र ५ गते

पोखरामा ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण हुँदै

पोखरा । प्रोटिनको महत्व, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा तथा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको मुख्य प्रायोजनमा हुने दौडबारे आयोजकले २०८३ भदौ ४ गते पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आयोजकका अनुसार २०८३ असोज ३ गते लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने दौडमा चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा हाफ म्याराथन, खुला दौड, विद्यार्थी तथा ह्विलचेयरतर्फ गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ । विजेताहरूलाई कुल १६ लाख रुपियाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक समेज राजभण्डारीले नेपालमा प्रोटिनसम्बन्धी पर्याप्त जानकारीको अभाव रहेकाले दौडमार्फत समुदायस्तरसम्म पोषण र प्रोटिनको महत्वबारे सन्देश पुर्‍याउने उद्देश्य रहेको बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रमलाई खेलकुद प्रतियोगितामा मात्र सीमित नगरी स्वास्थ्य, पोषण र पर्यटन प्रवद्र्धनको अभियानका रूपमा अघि बढाइएको छ ।

दौड बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर पुनः बसुन्धरा पार्कमै आएर समापन हुनेछ ।

प्रतियोगिता सुरक्षित र व्यवस्थित बनाउन नेपाल एथलेटिक्स सङ्‌घ, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी तथा स्वयम्‌सेवकसँग समन्वय गरिएको आयोजक अशेष भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार सहभागी सबैको बीमा गरिएको छ भने दौड मार्गभर स्वास्थ्य सेवा, हाइड्रेसन स्टेसन तथा आकस्मिक सेवाको व्यवस्था गरिनेछ ।

आयोजकले प्रतियोगितामा युवा, विद्यार्थी, खेलाडी, महिला तथा परिवारको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ ।

दौडले पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा थप प्रवर्धन गर्न सहयोग पुग्ने विश्वाससमेत आयोजकले व्यक्त गरेको छ ।

Author

Share the News

Recent News

Related News