मानव आवाज

२०८३ भाद्र २ गते
00: 00: 00
२०८३ भाद्र २ गते

साकुरा होलिडेजद्वारा पोखरा-काठमाडौँ रुटमा पर्यटक बस सेवा सुरु

पोखरा । पर्यटकीय राजधानी पोखराबाट काठमाडौँ र काठमाडौँ हुँदै पोखरा जोड्ने स्तरीय तथा लक्जरी पर्यटक बस सेवा थपिने क्रम बढ्न थालेको छ ।

यसैक्रममा साकुरा होलिडेज प्रा.लि.ले पोखरा-काठमाडौँ-पोखरा पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ ।

“पर्यटन प्रवर्धनमा हाम्रो प्रतिबद्धता” तथा “सुरक्षित यात्रा, आरामदायी यात्रा-साकुरा होलिडेजसँग यात्रा” भन्ने नारासहित कम्पनीले २०८३ भदौ १ गतेदेखि पोखरा-काठमाडौँ रुटमा सेवा सुरु गरेको हो ।

यसअघि कम्पनीले लुम्बिनी-काठमाडौँ तथा लुम्बिनीबाट दिवा र रात्रीकालीन पर्यटक बस सेवा सञ्चालन गर्दै आएको थियो ।

पोखरा-काठमाडौँ सेवा विस्तारसँगै पोखरा, काठमाडौँ र लुम्बिनीलाई पर्यटक बस सेवामार्फत जोड्ने कम्पनीको योजना रहेको छ ।

सेवाको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखराबाट स्तरीय पर्यटक बस सेवा थपिँदै जानुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप सुविधा पुग्ने बताउनुभयो ।

उहाँले आरामदायी र गुणस्तरीय यातायात सेवाले पर्यटकीय गन्तव्यबिचको आवागमन सहज बनाउने उल्लेख गर्नुभयो ।

साकुरा होलिडेजका सञ्चालक राजेन्द्रकुमार पौडेलले आन्तरिक तथा बाह्य पर्यटकको यात्रा सहज, सुरक्षित र स्मरणीय बनाउने उद्देश्यले सेवा विस्तार गरिएको बताउनुभयो ।

पोखरा, काठमाडौँ र लुम्बिनीलाई सहज यातायात सेवामार्फत जोड्दै पर्यटक, होटल तथा पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र सर्वसाधारण यात्रुलाई भरपर्दो तथा स्तरीय सेवा दिने कम्पनीको प्रतिबद्धता रहेको उहाँको भनाइ छ ।

पौडेलका अनुसार लुम्बिनीबाट सेवा सञ्चालन गरिरहेको अवस्थामा पोखराको पर्यटकीय सम्भावना र पछिल्लो समय सञ्चालनमा आएको “जाउँ है पोखरा” अभियानले आफूलाई प्रभावित गरेपछि पोखरा-काठमाडौँ रुटमा सेवा विस्तार गरिएको हो ।

कम्पनीले यात्रुको आरामलाई प्राथमिकतामा राख्दै बसमा २×१ एलिट क्लासका लक्जरी सिट व्यवस्था गरेको जनाएको छ । यात्रालाई थप आरामदायी बनाउन थाइरेस्टसहितका सिट जडान गरिएको छ ।

गर्मी तथा जाडो दुवै मौसममा यात्रुलाई सहज वातावरण उपलब्ध गराउन सेन्ट्रल एसीको व्यवस्था गरिएको छ ।

त्यस्तै, यात्राका क्रममा मनोरञ्जन तथा आवश्यक सूचना प्राप्त गर्न टेलिभिजन, वाइफाइ, जीपीएस र म्युजिक सिस्टमको सुविधा रहेको कम्पनीले जनाएको छ । बस सेवा अनुभवी चालक तथा परिचालकमार्फत सञ्चालन गरिने पनि बताइएको छ ।

कम्पनीका अनुसार पोखरा-काठमाडौँ एकतर्फी बस भाडा १ हजार ६ सय रुपियाँ निर्धारण गरिएको छ । भाडाबारे मदन आचार्यले जानकारी दिनुभएको हो ।

उहाँका अनुसा काठमाडौँ, सोह्रखुट्टेबाट बिहान ७ बजे र पोखरा पर्यटक बसपार्कबाट बिहान ८ बजे बस छुट्ने समय तालिका मिलाइएको छ ।

साकुरा होलिडेजले नयाँ सेवामार्फत पोखरा-काठमाडौँ आवागमनलाई थप आरामदायी, सुरक्षित र व्यवस्थित बनाउँदै पर्यटन क्षेत्रको प्रवर्धनमा योगदान पुर्‍याउने जनाएको छ ।

Author

Share the News

Recent News

Related News