पोखरा । पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रको आयोजना तथा शुभ अवसर ग्राम नेपाल, हेम्जाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्राकृतिक सामग्रीमा आधारित हस्तकला सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ । तालिमको समापन २०८३ साउन ३१ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा गरिएको हो ।
तालिम समापन समारोहका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले ‘सीप आज, अवसर भोलि’ भन्ने विषयमा धारणा राख्दै सीपमूलक तालिमले सहभागीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले तालिमबाट प्राप्त सीपलाई आयआर्जन तथा स्वरोजगारका क्षेत्रमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले यस्ता तालिमले पोखरा महानगरपालिकासँग स्थानीयस्तरमा सहकार्य विस्तार गर्नुका साथै सहभागीको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुभ अवसर ग्राम नेपालकी अन्थोनिया सुसै, पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम तथा किडासाका रमेश बास्तोलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उहाँहरूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता हुने बताउनुभयो ।
महिलालाई लक्षित गरी सञ्चालन गरिएको तालिमबाट ३४ जना महिला लाभान्वित भएका छन्।
तालिम व्यवस्थापन तथा कार्यक्रम सञ्चालनको जिम्मेवारी पोखरा उद्योग वाणिज्य सङ्घ सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमको समन्वय तथा सहभागी व्यवस्थापन सामाजिक विकास केन्द्रकी सामाजिक कार्यकर्ता कालिका कोइरालाले गर्नुभएको थियो ।