पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनीहरूले २०८३ साउन २९ गते सपथ ग्रहण गरेका हुन् ।
प्रतिष्ठानकी कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’लाई पोखरा महानगरपालिकाका प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराउनुभयो ।
त्यसपछि उपकुलपति, सदस्यसचिव, प्रज्ञा परिषद् तथा प्रज्ञा सभा सदस्यहरूलाई कुलपति प्रतीक्षाले सपथ गराउनुभयो ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले ‘पोखरा घर’स्थित प्रतिष्ठानको कार्यालयमा पदभारसमेत ग्रहण गरेका छन् । यसअघि प्रतिष्ठान भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।
सपथ ग्रहण कार्यक्रममा नगर प्रमुख आचार्यले प्रतिष्ठानले विभिन्न विधाका सर्जक, कलाकार तथा साहित्यकारलाई एउटै संस्थागत संरचनामा जोड्दै पोखराको प्राज्ञिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पोखराको भाषा, साहित्य, कला, सङ्गीत तथा संस्कृतिको संरक्षण, प्रवर्धन र विकासमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानको नेतृत्वमा भाषा तथा साहित्य क्षेत्रबाट कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’, कला तथा साहित्य क्षेत्रबाट उपकुलपति तिलक पुर्जा पुन मगर तथा लोकगीत तथा सङ्गीत क्षेत्रबाट सदस्य–सचिव जीवन दाहाल रहनुभएको छ ।
त्यस्तै, प्रज्ञा परिषद् सदस्यमा नृत्यतर्फ श्रीजङ्ग गुरुङ, फाइन आर्ट/ललितकलातर्फ हरेराम जोजेजु, सङ्गीत तथा वाद्यवादनतर्फ दिलीप गायक र रङ्गमञ्च तथा अभिनयतर्फ प्रमिला ताम्राकार तुलाचन रहनुभएको छ ।
प्रज्ञा सभा सदस्यमा साहित्यतर्फ कल्पना चिलवाल, संस्कृतितर्फ कृष्णप्रसाद गौतम, नृत्य निर्देशन तथा कलाकारतर्फ गमबहादुर परियार, फाइन आर्ट/ललितकलातर्फ ज्योति गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी, लोकगीत तथा सङ्गीत एवम् गीतकारतर्फ प्रेमराज अधिकारी, सङ्गीत तथा ब्याण्डतर्फ भास्करध्वज श्रेष्ठ, साहित्य तथा इतिहासतर्फ रविन्द्र माकाजु, साहित्य तथा कलातर्फ रिता पहारी तथा लोक तथा दोहोरी गीत–सङ्गीततर्फ शिवहरि ढुङ्गाना रहनुभएको छ ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पोखराको मौलिक कला, साहित्य, भाषा, सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्दै स्थानीय सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।