ललितपुर । समाचार प्रकाशनको विषयलाई लिएर जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे बहस चर्किएको छ ।
ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट २०८३ साउन २७ गते साँझ पक्राउ पर्नुभएका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उहाँलाई पक्राउ गरिएको बताइएको छ ।
समाचारमा चित्त नबुझेका विषयलाई कानुनी तथा प्रेससम्बन्धी स्थापित संयन्त्रमार्फत समाधान खोज्न सकिने अवस्थामा सम्पादकलाई नै पक्राउ गरेर हिरासतमा राखिएको भन्दै पत्रकार तथा सञ्चारसम्बद्ध सङ्घसंस्थाले आपत्ति जनाएका छन् ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी काठमाडौं प्रहरी परिसर पुगेर परिसरअगाडि प्रदर्शन गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गर्नुभएको छ ।
पत्रकार महासङ्घलगायतका संस्थाले समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने अभ्यासले प्रेस स्वतन्त्रतामाथि डर र दबाबको वातावरण सिर्जना गर्न सक्ने बताएका छन् ।
उनीहरूले समाचारमा असहमति भए कानुनअनुसार प्रक्रिया अघि बढाउनुपर्ने, तर पत्रकारितालाई नै अपराधीकरण गर्ने शैली स्वीकार्य नहुने बताएका छन् ।
चार दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठको नेतृत्वमा रहेको जनआस्था मिडियाले तीन दशकभन्दा लामो समयदेखि राजनीतिक, प्रशासनिक तथा सार्वजनिक क्षेत्रमा हुने अनियमितता र गैरकानुनी गतिविधिबारे समाचार प्रकाशन गर्दै आएको छ ।
खोजी पत्रकारितालाई प्राथमिकता दिँदै आएको जनआस्थाले सत्ता र शक्तिमा रहेका व्यक्तिका गतिविधिमाथि प्रश्न उठाउँदै आएको छ ।
समाचारकै विषयलाई लिएर श्रेष्ठ यसअघि पनि विभिन्न कानुनी तथा प्रशासनिक विवादमा पर्दै आउनुभएको छ ।
पछिल्लो पक्राउले भने एउटा व्यक्तिको गिरफ्तारीभन्दा बाहिर गएर समाचारमा उठाइएका विषयसँग असहमति हुँदा राज्यले पत्रकार र सम्पादकमाथि कस्तो व्यवहार गर्ने भन्ने प्रश्न उठाएको छ ।
पत्रकारिता क्षेत्रले आलोचना, प्रश्न र खोजी समाचारलाई लोकतन्त्रको स्वाभाविक हिस्सा मान्दै समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटो रोज्नुपर्नेमा जोड दिएको छ ।
उनीहरूले पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन सरकार तथा सुरक्षा निकायसँग माग गरेका छन् ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व कार्यवहाक अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव हुनुहुन्छ ।
खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय उहाँ निर्भीक र खरो पत्रकारका रूपमा सुपरिचित हुनुहुन्छ ।
श्रेष्ठको पक्राउसँगै पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले राज्यले आलोचना र प्रश्नलाई सहने लोकतान्त्रिक संस्कार विकास गर्नुपर्ने बताएका छन् ।
उनीहरूले सञ्चारमाध्यममाथि नियन्त्रणभन्दा प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिनुपर्ने र श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
पछिल्लो घटनाले समाचारको विषयमा असहमति जनाउने राज्यका निकाय र पत्रकारिताबिचको सम्बन्ध, पत्रकारको सुरक्षा तथा प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिबारे पुनः गम्भीर बहस आवश्यक देखाएको छ ।