मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

विपद्का कारण कृषि क्षेत्रमा क्षति बेहोरेका सिन्धुलीका किसानले पाए राहत

सिन्धुली । विपद्का कारण कृषि क्षेत्रमा क्षति बेहोरेका सिन्धुलीका १ सय २१ जना किसानले आर्थिक वर्ष २०८२/८३ मा २२ लाख ३३ हजार ६ सय ६९ रुपियाँ राहत पाएका छन् ।

कृषि विकास कार्यालय सिन्धुलीका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष राहत पाउने किसानको सङ्ख्या र वितरण भएको रकम दुवै बढेको छ ।

गत आर्थिक वर्षमा जिल्लाका १४ जना किसानलाई ४ लाख ६३ हजार ६ सय रुपियाँ राहत वितरण गरिएको थियो । यस वर्ष भने राहत पाउने किसानको सङ्ख्या बढेर १ सय २१ पुगेको हो ।

विपद्का कारण कृषि उत्पादनमा क्षति पुगेका किसानलाई पुनः खेतीमा फर्किन सहज बनाउन तथा आगामी उत्पादनका लागि आवश्यक बीउलगायत कृषि सामग्रीको अभाव हुन नदिन राहत वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीकी सूचना अधिकारी उमादेवी श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेश सरकारको सहयोगमा कृषि विकास कार्यालय सिन्धुलीले क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरेको हो ।

कार्यालयका अनुसार फागुनमा आएको हावाहुरी, असोजमा आएको बाढीपहिरो र चैतमा परेको असिनापानीका कारण जिल्लाका नौ ओटै स्थानीय तहमा कृषि बाली तथा कृषि व्यवसायमा क्षति पुगेको थियो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार विपद्का कारण धान, तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा, केरा लगायतका बाली तथा कृषि व्यवसायमा क्षति पुगेको थियो ।

यस वर्ष धानखेतीतर्फ ७८ जना किसान, तरकारी तथा फलफूलतर्फ २२ वटा कृषि फर्म र सुनकोशी गाउँपालिकास्थित लेकबेँसी कृषक समूहका २० जना किसानले राहत पाएका छन् ।

कार्यालयका अनुसार यस वर्ष सबैभन्दा धेरै राहत घ्याङ्लेख गाउँपालिकाका किसानले पाएका छन् ।

घ्याङ्लेखमा मात्रै धानखेतीमा ६ लाख ४० हजार ५ सय ५० रुपियाँ बराबरको क्षति भएको थियो ।

धानबाहेक जिल्लाका विभिन्न स्थानीय तहमा तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा लगायतका खेती तथा कृषि व्यवसायमा १५ लाख ९३ हजार १ सय १९ रुपियाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालय सिन्धुलीले प्रत्येक वर्ष विपद्का कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी राहत वितरण गर्दै आएको छ ।

राहत प्राप्त गर्न किसानले विपद्का कारण भएको क्षतिको मुचुल्का तयार गरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

त्यसपछि कार्यालयले स्थलगत तथा आवश्यक मूल्याङ्कनका आधारमा राहत रकम उपलब्ध गराउने गरेको सूचना अधिकारी श्रेष्ठले बताइन् ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १४ जना किसानलाई ४ लाख ६३ हजार ६ सय रुपियाँ राहत वितरण गरिएकोमा आर्थिक वर्ष २०८२/८३ मा १ सय २१ जना किसानलाई २२ लाख ३३ हजार ६ सय ६९ रुपियाँ राहत वितरण गरिएको छ ।

Author

Share the News

Recent News

Related News