काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालको कुल जनसङ्ख्याको एक चौथाइ हिस्सा ओगटेका दलित समुदायको उत्थानका लागि हालसम्मका सरकारहरूले विभिन्न कार्यक्रम ल्याए पनि ठोस उपलब्धि हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको २०८३ साउन २५ गतेको बैठकमा नेकपाका सांसद गणेश विश्वकर्माले पूर्वप्रधानमन्त्रीहरूका पालामा भएका प्रयासहरूको स्मरण गर्दै अब दलित अधिकार दशक घोषणा गर्न र संविधानको धारा २४ र ४० को भावना अनुसार एकीकृत कानुन निर्माण गर्न माग गर्नुभएको छ ।
उहाँले दलित विकास प्राधिकरण गठन गरी बजेटसहितको योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कमैया, कमलरी, हलिया र हरुव–चरुवा मुक्तिको घोषणा भए पनि उनीहरूको पुनःस्थापनाको कार्य अझै अधुरो रहेकोमा सांसद विश्वकर्माले चिन्ता व्यक्त गर्नुभयो ।
दलित भूमिहीन र सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्न ठोस योजना ल्याउन उहाँले माग गर्नुभयो ।