सिन्धुली । दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा कोदोजन्य बालीको उत्पादन, संरक्षण तथा प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने सिन्धुलीका १० जना कृषक सम्मानित भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले २०८३ साउन १६ गते आयोजना गरेको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा कोदो खेती गर्दै आएका १० जना कृषकलाई सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यालयका अनुसार कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि तथा बजारीकरणमा किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जिल्लामा हाल १० हजार ७ सय ४२ हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको जानकारी दिनुभयो ।
उहाँले कोदो पोषणयुक्त, जलवायु परिवर्तनको प्रभाव कम पर्ने तथा न्यून लागतमा उत्पादन गर्न सकिने महत्वपूर्ण खाद्यान्न बाली भएकाले यसको उत्पादन र उपभोगलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले कोदोबाट बन्ने विभिन्न परिकार, यसको पोषण मूल्य, स्वास्थ्यमा पुग्ने लाभ तथा जिल्लामा उत्पादनको अवस्थाबारे जानकारी गराउँदै परम्परागत बालीको संरक्षणसँगै आधुनिक कृषि प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले कोदो खेतीले किसानको आयआर्जन वृद्धि गर्नुका साथै स्थानीय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
पछिल्लो समय युवापुस्ताको कोदो खेतीप्रतिको आकर्षण घट्दै आएको उल्लेख गर्दै उहाँले स्थानीय तह, कृषि कार्यालय तथा सरोकारवाला निकायबीचको सहकार्यबाट किसानलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
सम्मानित कृषकहरूको अनुभव र सफलताले अन्य किसानलाई पनि व्यावसायिक रूपमा कोदो खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्दै उहाँले उत्पादनसँगै प्रशोधन र बजार विस्तारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले कोदोबाट उत्पादन हुने विभिन्न खाद्य परिकारको व्यावसायिक विकास, ब्रान्डिङ तथा बजारीकरणमा जोड दिनुभयो ।
विशेषगरी कोदोबाट बन्ने परम्परागत मदिरालगायत अन्य परिकारलाई गुणस्तरीय रूपमा उत्पादन गरी कानुनी तथा कर प्रणालीभित्र ल्याउन सके बजार विस्तार हुने र किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्ने उहाँको भनाइ थियो ।
स्थानीय उत्पादनलाई आधुनिक बजारसँग जोड्न सके कोदो खेतीलाई थप लाभदायी व्यवसायका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले कोदो उत्पादन वृद्धि, मूल्य अभिवृद्धि, प्रशोधन उद्योगको विकास, प्रभावकारी बजारीकरण तथा उपभोग प्रवर्धनका लागि सरकारी र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई कोदोको महत्वबारे जानकारी गराउने उद्देश्यले सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौतारामा कोदोबाट बनेका विभिन्न परिकारको प्रदर्शनीसमेत गरिएको थियो ।