मानव आवाज

२०८३ श्रावण १७ गते
00: 00: 00
२०८३ श्रावण १७ गते

पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा विविध कार्यक्रम

पोखरा । दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा पोखरा महानगरपालिका-२२, पुम्दीभुम्दीको कोदीमा २०८३ साउन १६ गते विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

पुम्दीभुम्दी कृषि सहकारी संस्था र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजना तथा वडा नं. २२ कार्यालय, वडास्तरीय कृषि सञ्जाल र विभिन्न स्थानीय सङ्घसंस्थाको समन्वयमा कार्यक्रम हुन लागेको हो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कोदो खेतीको प्रवर्धन, स्थानीय उत्पादनको संरक्षण तथा पोषणयुक्त खाद्यान्नको उपयोग बढाउने उद्देश्यले दोस्रो राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा करिब १० प्रकारका कोदोका परिकारको प्रदर्शनी तथा बिक्री गरिनेछ ।

साथै, पुम्दीभुम्दीको कोदो पकेट क्षेत्र कोदीमा पहिलोपटक कोदो महोत्सवसमेत आयोजना गरिनेछ। यसबाट किसान र उपभोक्ताबिच कोदोप्रतिको आकर्षण बढ्नुका साथै स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत कोदोका विभिन्न स्थानीय जातको प्रदर्शनी, कोदो खेतीसम्बन्धी सहजीकरण तथा परामर्श, कोदो रोपाइँ प्रतियोगिता, कृषक-उपभोक्ता अन्तरक्रिया तथा कोदोबाट बनेका विभिन्न परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्थानीय कला-संस्कृतिको संरक्षणका लागि भजन-कीर्तन तथा अन्य सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रदर्शनीमा पागुनो कोदो, डल्ले कोदो, काबुनो, चिनो, भोगे सामा, जुनेली र धानकोदो लगायतका स्थानीय जात प्रदर्शन गरिनेछ ।

महाशाखा प्रमुख कडरियाका अनुसार कोदो आइरन, फस्फोरस, क्याल्सियम, फाइबरलगायत पोषक तत्त्वले भरिपूर्ण अन्नबाली भएकाले यसको उत्पादन र उपभोग दुवै बढाउन महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कोदो उत्पादनलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले किसानका लागि प्रति किलोग्राम ९० रुपियाँ समर्थन मूल्यसमेत निर्धारण गरेको छ ।

महानगरका अनुसार हाल पोखरामा करिब ३ हजार ९५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।

नेपालमा साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइन्छ । कोदोजन्य बालीको उत्पादन वृद्धि, आयात न्यूनीकरण तथा यसको पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले २०८२ सालदेखि यो दिवस राष्ट्रिय रूपमा मनाउन थालेको हो ।

Author

Share the News

Recent News

Related News