पोखरा । “केयरिङ बाइ शेयरिङ” भन्ने डिष्ट्रिक्टको नारासहित लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा सञ्चालित तीनदिने हस्तकला तालिम २०८३ साउन १३ गते सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका-१७ स्थित सिमलटुडा टोल विकास संस्थाको भवनमा आयोजित तालिममा १८ जना महिलाले सहभागिता जनाएका थिए ।
तालिममा कुशन, गुडिया तथा मकैको खोस्टाबाट बुके फूल बनाउन आवश्यक सीप प्रदान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५-आईका डिस्ट्रिक्ट चिफ एडभाइजर लायन ऋषि गिरीले तालिममा तयार गरिएका हस्तकलाका सामग्रीको बजारीकरणमा जोड दिँदै लायन्स क्लब अफ पोखरा बाराही टाउनलाई जिल्लाकै उत्कृष्ट क्लबमध्ये एक भएको बताउनुभयो ।
उहाँले तालिम सफल बनाउन क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै क्लबकी अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेलाई अन्तर्राष्ट्रिय पिन प्रदान गरी सम्मान गर्नुभयो ।
क्लबकी संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एक्जिक्युटिभ लायन रोजी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले हस्तकला सम्बन्धी तालिम सञ्चालन गरिएको बताउनुभयो ।
सिमलटुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइलीले लामो समयपछि टोलमा यस्ता सीपमूलक तालिम सञ्चालन भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमका लागि टोल विकास संस्था सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
तालिमकी प्रशिक्षक तथा क्लबकी कोषाध्यक्ष सावित्रा पराजुलीले सहभागीलाई धन्यवाद दिँदै आगामी दिनमा अन्य लायन्स क्लबबाट आग्रह आए निःशुल्क तालिम दिन तयार रहेको जानकारी दिनुभयो ।
क्लबकी अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेले सिमलटुडा टोल विकास संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै महिलाको सीप विकास तथा स्वरोजगार प्रवर्धनका लागि आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गरिने बताउनुभयो ।

डिस्ट्रिक्ट कोर्डिनेटर (भोकेशनल ट्रेनिङ) लायन सोनी तामाङले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न आवश्यक रहेको उल्लेख गर्दै आयआर्जनका अवसर सिर्जना गर्न घरबाहिर निस्केर सीप सिक्नुपर्नेमा जोड दिनुभयो ।
सहभागी महिलाहरूले विगत नौ वर्षदेखि सिमलटुडामा यस्ता सीपमूलक तालिम सञ्चालन नभएको र यस तालिमबाट नयाँ सीप सिक्ने अवसर पाएकामा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा डिस्ट्रिक्ट असिस्टेन्ट चिफ एडभाइजर लायन शान्ता थापा, लायन सूर्यनारायण बराल, डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर लायन युवराज खनाल, डिस्ट्रिक्ट कोर्डिनेटर (भोकेशनल ट्रेनिङ) लायन सोनी तामाङ, सिमलटुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइली, पुण्यभूमि आमा समूहकी अध्यक्ष मिना सापकोटालगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबकी सचिव लक्ष्मीदेवी शर्माले गर्नुभएको थियो ।