ललितपुर। ललितपुरको महाङ्काल गाउँपालिकामा एसओएस बालग्राम सानोठिमी, भक्तपुरका कर्मचारी सवार स्कार्पियो २०८३ साउन ११ गते दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
महाङ्काल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा.आ.अ. ४६३९ नम्बरको स्कार्पियो महाङ्काल गाउँपालिका-२ कतवन भञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
स्कार्पियोमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरूमा काठमाडौँको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतिवडा, नवलपरासीको गैँडाकोट घर भई हाल काठमाडौं बस्दै आउनुभएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौँ बस्दै आउनुभएकी ३६ वर्षीया डिना सोनाहा तथा नुवाकोट घर भई हाल काठमाडौँ बस्दै आउनुभएका २६ वर्षीय देवेन्द्रराज पाण्डे रहनुभएको छ । यस्तै, मानिखेलको खोरभञ्ज्याङमा उपचार गराइ घर फर्कनुभएकोमा काठमाडौँको कीर्तिपुर नगरपालिका-५ निवासी ३९ वर्षीय निशान महर्जन हुनुहुन्छ ।
दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।