मानव आवाज

२०८३ श्रावण १० गते
00: 00: 00
२०८३ श्रावण १० गते

परम्परागत सीप र रैथाने सामग्रीको सदुपयोगमा जोड

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजना तथा सिमलटुडा टोल विकास संस्थाको समन्वयमा आयोजित तीनदिने हस्तकला तालिम २०८३ साउन १० गतेदेखि पोखरा महानगरपालिका–१७, सिमलटुडास्थित टोल विकास संस्थाको भवनमा सुरु भएको छ ।

तालिमको उद्घाटन डिष्ट्रिक्ट ३२५ ‘आई’ का गभर्नर लायन सूर्यकुमार केसीले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बाराही टाउन महिला सदस्यहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको क्लब भएकाले महिलाको आवश्यकता र सशक्तीकरणका क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा आवश्यक परे डिष्ट्रिक्टबाट पूर्ण सहयोग उपलब्ध गराइने बताउनुभयो ।

गभर्नर केसीले डिष्ट्रिक्टको मूल नारा ‘केयरिङ बाइ शेयरिङ’ लाई सार्थक रूपमा कार्यान्वयन गर्ने क्लबहरूलाई सम्मानसमेत गरिने जानकारी दिनुभयो ।

क्लबकी संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट एक्जिक्युटिभ लायन रोजी श्रेष्ठले तालिममार्फत स्थानीय परम्परागत सीप र रैथाने सामग्रीको संरक्षण तथा सदुपयोगमा जोड दिइएको बताउनुभयो ।

उहाँका अनुसार तीन दिने तालिममा सहभागीलाई कुसन, गुडिया तथा मकैको खोस्टाबाट बुके फूल बनाउने सीप प्रदान गरिनेछ ।

यस्ता सीपमूलक तालिमले स्थानीय महिलालाई स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट प्रथम उपगभर्नर लायन शैलेन्द्रमोहन भट्टराई, द्वितीय उपगभर्नर लायन विष्णु भण्डारी, डिष्ट्रिक्ट प्रमुख सल्लाहकार लायन ऋषि गिरी, सहायक सल्लाहकार लायन अमृत शोभा खत्री तथा पुण्यभूमि आमा समूहकी अध्यक्ष मीना सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्सको सामाजिक योगदानबारे प्रकाश पार्नुभयो ।

तालिमको सहजीकरण क्लबकी कोषाध्यक्ष तथा प्रशिक्षक सावित्रा पराजुलीले गर्नुहुने बताइएको छ । उहाँले छोटो अवधिको व्यावहारिक तथा सीपमूलक तालिमबाट सहभागीले आधारभूत ज्ञानसँगै व्यवहारिक सीप हासिल गर्न सक्ने भएकाले तालिम प्रभावकारी हुने बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनकी अध्यक्ष लायन लक्ष्मी ठकुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव लायन लक्ष्मीदेवी शर्माले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News