ललितपुर । ११३ औँ भानु जयन्तीको अवसरमा गोदावरी साहित्य परिषद्ले गोदावरी नगरपालिका-१० सँगको सहकार्यमा रचना वाचन कार्यक्रम आयोजना गरेको छ ।
२०८३ असार २९ गते आयोजित कार्यक्रममा ३० जना सर्जकले कविता, गजल तथा अन्य साहित्यिक सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कवि डा. केशव सिल्वाल, रत्न विरहीदेखि नवसर्जकसम्मको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुत अधिकांश सिर्जनाले समकालीन राजनीतिक तथा सामाजिक विकृति र विसङ्गतिमाथि तीखो व्यङ्ग्य र आलोचना गरेका थिए ।
साथै आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनामा उहाँले पुर्याएको योगदानलाई विभिन्न सिर्जनामार्फत उजागर गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यस्ता साहित्यिक कार्यक्रम विद्यालयस्तरसम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
साहित्यले समाजमा आशा, सकारात्मक सोच र सिर्जनशीलता अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रम समुदायस्तरमा पनि नियमित रूपमा आयोजना गर्नुपर्ने उहाँको भनाइ थियो ।

गोदावरी नगरपालिका-१० का वडाध्यक्ष शेखर न्यौपानेले साहित्य र कलाले समाजको सकारात्मक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आफ्नो वडामा प्रत्येक दुई-तीन महिनामा यस्ता साहित्यिक कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो ।
कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले साहित्य र कलाको दायरा व्यापक रहेको चर्चा गर्दै यसको संरक्षण, प्रवर्धन र निरन्तरताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गोदावरी साहित्य परिषद्का संस्थापक अध्यक्ष वशिष्ठ अधिकारीले परिषद्ले नगरपालिकाभर साहित्यिक गतिविधि विस्तार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सिर्जनात्मक र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
परिषद्का अध्यक्ष नवराज सञ्जेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का सचिव शर्मिला दाहालले गर्नुभएको थियो ।