मानव आवाज

२०८३ असार २६ गते
00: 00: 00
२०८३ असार २६ गते

भुक्तानी प्रक्रिया रोकिँदा कमलामाई नगर प्रमुख पोखरेलको सरकारप्रति आक्रोश

सिन्धुली । आर्थिक वर्षको अन्तिम समयमा स्थानीय तहमार्फत हुने भुक्तानी प्रक्रिया रोकिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

नगर प्रमुख पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडक, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालगायतका स्थानीय सरकारमार्फत सम्पन्न भइसकेका योजनाको भुक्तानी रोकिँदा सर्वसाधारण नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको बताउनुभएको छ ।

उहाँले आर्थिक वर्षको अन्तिम समयमा सरकारले सूत्र सफ्टवेयर बन्द गरेपछि स्थानीय तहको दैनिक कामकाज ठप्पजस्तै भएको उल्लेख गर्दै यसको सबैभन्दा बढी असर गरिब, श्रमिक तथा विपन्न वर्गमा परेको बताउनुभएको छ ।

नगर प्रमुख पोखरेलले सङ्घीय सरकारले स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहअस्तित्वको भावना विपरीत निर्णय गरेको आरोप लगाउँदै यस्तो कदमले स्थानीय सरकारलाई जनतामाझ कमजोर र अक्षम देखाउने प्रयास भएको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार भुक्तानी प्रक्रिया अवरुद्ध हुँदा निर्माण व्यवसायी, उपभोक्ता समिति, मजदुर तथा सेवा प्रदायकले समयमै आफ्नो पारिश्रमिक तथा भुक्तानी रकम प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

आर्थिक वर्षको अन्त्यतिर सरकारी लेखा तथा भुक्तानी प्रणाली व्यवस्थापनका कारण केही समय भुक्तानी प्रक्रिया प्रभावित हुने गरे पनि यस वर्ष सम्पन्न भइसकेका योजनाको रकमसमेत रोकिएको भन्दै देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाइरहेका छन् ।

Author

Share the News

Recent News

Related News