सिन्धुली । केही वर्षअघिसम्म वर्षायाममा खोला बग्ने र हिउँदमा उजाड रहने बगर अहिले हरियालीले ढाकिएको छ ।
कुनै समय घाँससमेत उम्रन कठिन हुने त्यही बगरलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरूले उत्पादनको स्रोत बनाउँदै कृषिमा नयाँ सम्भावनाको ढोका खोलेका छन् ।
हरिहरपुरगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बगर खेती कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरूले व्यावसायिक तरबुजा खेती सुरु गरेपछि उजाड बगर उत्पादनशील भूमिमा परिणत भएको हो ।
कार्यक्रममा गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउँदा बाँकी लगानी किसानहरूले आफैँ गरेका छन् ।
हरिहरपुरगढी गाउँपालिका–२ जखौलीका आठ जना किसानले गठन गरेको जागरण कृषक समूहले आर्थिक वर्ष २०८२ मा चार बिघा क्षेत्रफलमा तरबुजा खेती गरेको थियो ।
गाउँपालिकाले समूहलाई पाइप, स्प्रे ट्याङ्की, बीउ, विषादीलगायत सामग्रीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने आवश्यक प्राविधिक सहयोगसमेत प्रदान गरेको किसान धिरेन्द्र राईले जानकारी दिनुभयो ।
अनुकूल मौसमका कारण पहिलो वर्ष नै चार बिघा क्षेत्रबाट करिब ३६ हजार किलो तरबुजा उत्पादन भएको थियो ।
प्रतिकिलो २५ देखि ३० रुपियाँका दरले बिक्री हुँदा करिब ९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको किसानहरूको भनाइ छ ।
“पहिलो प्रयासमै राम्रो उत्पादन र आम्दानी भएपछि बगरमा पनि व्यावसायिक तरबुजा खेती गर्न सकिने विश्वास बढ्यो । त्यसैले यस वर्ष गाउँपालिकाको अनुदानबिना नै आफ्नै लगानीमा खेतीलाई निरन्तरता दिएका हौँ ।”- किसान धिरेन्द्र राईले भन्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाका अनुसार खोला तथा नदी किनारको बलौटे माटो, पर्याप्त घाम र सहज सिँचाइको सम्भावनाका कारण बगरको जमिन तरबुजा खेतीका लागि निकै उपयुक्त मानिन्छ ।
यस वर्ष किसानहरूले गाउँपालिकाको अनुदानबिना नै करिब तीन बिघा क्षेत्रफलमा तरबुजा खेती गरेका थिए । बीउ, मल तथा अन्य कृषि सामग्रीमा करिब ७० हजार रुपियाँ लगानी गरिएको थियो । तर, असिना, वर्षा र हावाहुरीका कारण उत्पादनमा ठूलो क्षति पुगेको किसानहरू बताउँछन् ।
समूहका किसान शुकदेव राईका अनुसार प्रतिकूल मौसमका कारण उत्पादन अपत्यारिलो ढङ्गले घट्यो ।

“असिना, पानी र हावाहुरीले गर्दा उत्पादन निकै घट्यो । करिब तीन बिघाबाट जम्मा १ हजार ५ सय किलो मात्र तरबुजा उत्पादन भयो । त्यसबाट करिब १ लाख ५० हजार रुपियाँको मात्र कारोबार गर्न सक्यौँ ।”-उहाँले भन्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय केही तरबुजा कुहिने समस्या पनि देखिन थालेकाले माटो परीक्षण गरिदिन गाउँपालिकासँग आग्रह गरिएको छ ।
यस क्षेत्रमा मेघा र सरस्वती जातका तरबुजा खेती गरिएको थियो । बीउ भने गत वर्ष र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको किसानहरूले बताएका छन् ।
उत्पादन घटे पनि बजारको अभाव भने नरहेको किसानहरूको अनुभव छ । हरिहरपुरगढीमा उत्पादन भएको तरबुजा सिन्धुलीमाढीका साथै हेटौँडा, काठमाडौंलगायत विभिन्न सहरमा बिक्री हुँदै आएको छ । किसानहरूले प्रतिकिलो २५ देखि ३० रुपियाँसम्म मूल्य पाउने गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
“गाउँपालिकाको सहयोगले तरबुजा खेतीप्रति किसानको विश्वास बढेको छ । यसले आम्दानीसँगै कृषि पेशाप्रति पनि उत्साह थपिएको छ । स्थानीय किसानलाई स्थानीय सरकार उनीहरूसँगै छ भन्ने अनुभूति गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरेका हौँ ।”-उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले बाँझो बगरलाई उत्पादनशील भूमिमा रूपान्तरण गर्नु गाउँपालिकाको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
“किसानको मेहनत, स्थानीय सरकारको ५० प्रतिशत अनुदान तथा योजनाबद्ध सहयोग र समन्वयले बगर पनि आम्दानीको भरपर्दो स्रोत बन्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ । यो कार्यक्रमले किसानको विश्वास जित्नुका साथै कृषि विकासको प्रेरणादायी नमुना पनि प्रस्तुत गरेको छ ।”-अध्यक्ष वाइबाले भन्नुभयो ।
बाँझो बगरलाई हराभरा उत्पादनभूमिमा रूपान्तरण गर्दै हरिहरपुरगढी गाउँपालिकाले कृषिमा आशाको नयाँ अध्याय सुरु गरेको छ ।
प्रतिकूल मौसमका चुनौतीका बाबजुद किसान र स्थानीय सरकारको सहकार्यले बगर खेतीको सम्भावना अझै उजागर गरेको छ ।