मानव आवाज

२०८३ असार २३ गते
00: 00: 00
२०८३ असार २३ गते

एक वर्षपछि गण्डकी प्रज्ञा–प्रतिष्ठानले पायो नयाँ कुलपति

पोखरा । एक वर्षभन्दा बढी समयदेखि नेतृत्वविहीन रहेको गण्डकी प्रज्ञा–प्रतिष्ठानले नयाँ कुलपति पाएको छ। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ को दफा ८(१) बमोजिम सिफारिस समितिको सिफारिसका आधारमा प्रा. डा. कुसुमकुमार न्यौपानेलाई प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेको हो ।

पर्वत स्थायी घर हुनुभएका प्राडा. न्यौपानेलाई २०८३ असार २३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि कुलपति नियुक्त गरिएको हो ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको नेपाली विभागका पूर्व विभागीय प्रमुख रहनुभएका न्यौपाने हाल अध्यापन सेवाबाट सेवानिवृत्त हुनुहुन्छ । उहाँ नेपाली भाषा, साहित्य, गीत–संगीत, कला तथा संस्कृतिका अध्येता र जानकारका रूपमा परिचित हुनुहुन्छ ।

प्रा. डा. कुसुमकुमार न्यौपाने

सोही ऐनअनुसार साहित्य, सङ्गीत, भाषा, बाद्यवादन, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय, गायन, रचना, संस्कृति तथा लोकदोहोरीलगायत क्षेत्रको प्रतिनिधित्व हुने गरी २४ सदस्यीय प्रज्ञा सभाको पनि गठन गरिएको छ ।

प्रतिष्ठानको उपकुलपतिमा शङ्कर विरही गुरुङ (स्याङ्जा) तथा सदस्य–सचिवमा मनकुमार श्रेष्ठ (तनहुँ) नियुक्त हुनुभएको छ ।

प्राज्ञसभा सदस्यमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठ मनोनीत हुनुभएको छ ।

त्यस्तै पर्वतका इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ र शान्ति भुषाल, नवलपुरका ईश्वरीप्रसाद भुषाल र सञ्जु महतो थनेत, तनहुँका प्राडा. ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य र शान्ता बास्तोला, स्याङ्जाका कमलप्रसाद पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका बसन्त अधिकारी तथा गोरखाका डा. वीरेन्द्र पुडासैनी पनि प्रज्ञा सभा सदस्यमा मनोनीत हुनुभएको छ ।

संस्थापक कुलपति सूर्य खड्का ‘बिखर्ची’को कार्यकाल सकिएको एक वर्षभन्दा बढी समयदेखि प्रतिष्ठान पदाधिकारीविहीन अवस्थामा रहेको थियो ।

नयाँ नेतृत्व नियुक्त भएसँगै प्रतिष्ठानका साहित्यिक, भाषिक, सांस्कृतिक तथा प्राज्ञिक गतिविधिले पुनः गति लिने अपेक्षा गरिएको छ ।

Author

Share the News

Recent News

Related News