पोखरा । कृषि क्षेत्रको व्यावसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ ।
गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको ‘प्रदेश उत्कृष्ट कृषक सम्मान कार्यक्रम–२०८३‘ २०८३ असार २२ गते मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेशको कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एक सर्वोत्कृष्ट र पाँच उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सफल कृषकका अनुभव अन्य कृषकसम्म पुर्याउँदै युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँको भनाइ थियो ।

मन्त्री कार्कीले कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।
कृषि उत्पादनलाई बजारसँग जोड्दै व्यवसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकास गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य भक्तबहादुर कुँबरले यस्ता सम्मान कार्यक्रमले कृषि क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका–१ स्थित सहारा कृषि फर्मका सञ्चालक गमबहादुर कुँबरलाई प्रदान गरिएको छ । उहाँले नगद रु. ५० हजार सहित सम्मानपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी, प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका सञ्चालक निर्मल भट्टराई, पोखरा–१४ स्थित रोशन एण्ड रोहित कृषि फर्मका सञ्चालक रमेश खनाल, तनहुँको व्यास नगरपालिका–१० स्थित दाजुभाइ गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना, स्याङ्जाको भीरकोट नगरपालिका–७ स्थित खिलुङ कालिका अर्गानिक कृषि फर्मका सञ्चालक शालिग्राम अर्याल तथा मुस्ताङको निलगिरी पशुपन्छी तथा कृषि व्यवसायका सञ्चालक भुपेन्द्र शेरचन सम्मानित हुनुभयो ।
प्रदेश उत्कृष्ट कृषि पुरस्कारअन्तर्गत प्रत्येकलाई नगद रु. ३२ हजार र सम्मानपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी एवम् पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने कृषक तथा कृषि फर्मलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको बताउनुभयो ।
उहाँले उत्कृष्ट कृषकलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्नुका साथै अन्य कृषक पनि आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री खेतीतर्फ आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।