मानव आवाज

२०८३ असार २२ गते
00: 00: 00
२०८३ असार २२ गते

तीनदिने विशेष आध्यात्मिक कार्यशाला सम्पन्न

काभ्रे । आनन्द मार्ग प्रचारक सङ्घ, नेपालको आयोजनामा तीनदिने विशेष आध्यात्मिक कार्यशाला २०८३ असार २१ गते सम्पन्न भएको छ ।

सङ्घका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा आयोजित कार्यशालामा देशका विभिन्न भूभागबाट आएका ८५ भन्दा बढी साधक तथा अनुयायीहरूको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा अध्यक्ष बरालले कार्यशालाबाट प्राप्त आध्यात्मिक ज्ञानलाई सिद्धान्तमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दैनिक जीवनमा साधना, धर्मचक्र तथा यम–नियमको पालना गरेमा मात्र आत्मिक उन्नति सम्भव हुने बताउनुभयो ।

समापन समारोहका वक्ताहरूले साधनाको निरन्तर अभ्यासले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउने र परमात्मासँग एकाकार हुन सहयोग गर्ने धारणा व्यक्त गरे ।

कार्यशालामा सङ्घका केन्द्रीय प्रशिक्षक आचार्य विशुद्धात्मानन्द अवधूत, निवर्तमान अध्यक्ष आचार्य महेन्द्र श्रेष्ठ, केन्द्रीय सल्लाहकार आचार्य मनबहादुर रानाभाट तथा अवधुतिका आनन्द अविशा आचार्यले आनन्दमूर्तिजीद्वारा प्रतिपादित दर्शन, ज्ञानमार्ग र साधना पद्धतिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका पर्यवेक्षक तथा अधिकारकर्मी गणेश भण्डारीले आनन्दमूर्तिजीको ‘नव–मानवतावादी सिद्धान्त’को महत्त्वबारे प्रकाश पार्दै उक्त सिद्धान्तलाई व्यवहारमा लागू गर्न सके मात्र विश्व मानव समाजको वास्तविक कल्याण र रूपान्तरण सम्भव हुने बताउनुभयो ।

उहाँका अनुसार नव–मानवतावादले मानवबिचका विभेद अन्त्य गर्नुका साथै सम्पूर्ण जीवजन्तु, वनस्पति र प्रकृतिप्रति निःस्वार्थ प्रेम र सम्मानको भावना विकास गर्न प्रेरित गर्छ ।

कार्यशालामा सामूहिक अनुशासन, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा साङ्गठनिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिइएको थियो ।

समापन सत्रमा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहभागी साधकबीचको सहकार्य र भ्रातृत्व भावको प्रशंसा गरिएको थियो ।

सहभागीहरूले कार्यशालाले आफ्नो आध्यात्मिक ऊर्जा र साधनाप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाएको प्रतिक्रिया दिएका छन् ।

आयोजकका अनुसार मानव जीवनको रूपान्तरण, आचरण शुद्धि तथा भक्ति मार्गको महत्त्वलाई आत्मसात् गराउने उद्देश्यका साथ आयोजित कार्यशालाले साधकहरूलाई सामाजिक उत्तरदायित्व वहन गर्दै आध्यात्मिक यात्रामा अघि बढ्न प्रेरणा दिएको छ ।

Author

Share the News

Recent News

Related News