काठमाडौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध सङ्घर्षपूर्ण खेलमा केप भर्डेको आत्मघाति गोलमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
२०८३ असार २० गते बिहान भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि नियमानुसार ३० मिनेटको समय थपिएको थियो । थपिएको समयमा पनि बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।
२९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभएको थियो । तर, ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा ल्याउनुभयो ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाउनुभयो ।
त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक विश्व बिजेता अर्जेन्टिनासँग बराबरी बनाउनुभएको थियो । तर, १११औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो ।
यो जितसँगै अन्तिम १६ मा अर्जेन्टिनी टोलीको भेट इजिप्टको टोलीसँग पक्का भएको छ ।