सिन्धुली । मरिण गाउँपालिका–७ का विनोद मैनाली अहिले मौरीपालन व्यवसायप्रति निकै उत्साहित हुनुहुन्छ । गाउँपालिकाबाट पाँचदिने तालिम र ५० प्रतिशत अनुदानमा आधुनिक मौरीघार पाएपछि उहाँको मौरीपालन गर्ने तरिका मात्र होइन, यस व्यवसायप्रतिको दृष्टिकोण पनि परिवर्तन भएको छ ।
सङ्घीय सरकारबाट प्राप्त ५७ लाख ५० हजार रुपियाँको सहयोगमा मरिण गाउँपालिकाले मौरीपालन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमअन्तर्गत पाँचदिने तालिमसँगै कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८१ ओटा आधुनिक मौरीघार तथा मौरीपालनका आवश्यक सामग्री वितरण गरिएको छ । तीमध्ये १० ओटा घार प्राप्त गर्ने किसान हुनुहुन्छ विनोद मैनाली ।
मैनालीका अनुसार परम्परागत काठको घारमा मौरीपालन गर्दा मह निकाल्न निकै कठिन हुन्थ्यो । मौरीको टोकाइ सहनुपर्ने, मह फोहोर हुने, मौरी भाग्ने वा रोग लाग्ने, उत्पादन कम हुनेजस्ता समस्या नियमित झेल्नुपर्थ्यो । “पहिले मह निकाल्दा धेरै दुःख हुन्थ्यो। मौरीको टोकाइ पनि खानुपर्थ्यो । मह पनि कम र गुणस्तरहीन हुन्थ्यो । धेरैजसो अवस्थामा आधा मह मात्र बच्थ्यो ।”-उहाँले विगत सम्झिँदै भन्नुभयो ।
तर, आधुनिक घार प्रयोग गर्न थालेपछि अवस्था पूर्ण रूपमा फेरिएको उहाँको अनुभव छ । “अहिले घार सजिलै खोल्न, मौरीको स्वास्थ्य जाँच गर्न, मह निकाल्न र नयाँ मौरी परिवार विस्तार गर्न सजिलो भएको छ । उत्पादन बढ्नेमा पनि विश्वस्त छु ।”-उहाँले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमअन्तर्गत कृषकहरूलाई आधुनिक घार, मौरी परिवार, सुरक्षात्मक पोशाक, धुवाँ दिने उपकरण, चाकु तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइएको छ। यसले स्थानीय किसानमा व्यावसायिक मौरीपालनप्रति नयाँ उत्साह थपेको छ ।
मरिण गाउँपालिका–१, खलङ्गाकी ३२ वर्षीया सुमित्रा सुयालका लागि यो कार्यक्रम लामो समयदेखिको इच्छालाई यथार्थमा बदल्ने अवसर बनेको छ । उहाँ यसअघि मौरीपालन नगरेको र यसबारे कुनै ज्ञान पनि नभएको बताउनुहुन्छ । गाउँपालिकाले सूचना प्रकाशित गरेलगत्तै आवेदन दिनुभएको उहाँ कार्यक्रमका लागि छनोट हुनुभयो । तालिमसँगै ५० प्रतिशत अनुदानमा ६ ओटा आधुनिक घार प्राप्त गरेपछि उहाँ अहिले मौरीपालनको सुरुआती यात्रामा हुनुहुन्छ ।
“यदि मेरो नाम छनोट नभएको भए पनि आफ्नै खर्चमा घार किनेर मौरीपालन सुरु गर्ने सोच थियो ।”-उहाँले भन्नुभयो । व्यवसाय नयाँ भएकाले आम्दानीको यकिन अनुमान गर्न नसके पनि भविष्यप्रति भने उहाँ आशावादी हुनुहुन्छ ।
मरिण गाउँपालिका–३ भालुमाराका ३९ वर्षीय वीरबहादुर घलान पनि गाउँपालिकाको कार्यक्रमबाट लाभान्वित किसानमध्ये एक हुनुहुन्छ । उहाँले तालिमसँगै पाँच ओटा आधुनिक घार प्राप्त गर्नुभएको छ । “यस कार्यक्रमले हामीलाई व्यावसायिक किसान बन्ने प्रेरणा दिएको छ । अब गाउँपालिकाले देखाएको बाटो पछ्याउँदै मौरीपालनलाई व्यवसायका रूपमा अघि बढाउने योजना बनाएको छु ।”-घलानले भन्नुभयो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तानका अनुसार मौरीपालनलाई परम्परागत सीमाभित्र नराखी व्यावसायिक कृषि उद्यमका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उहाँका अनुसार तालिम, प्रविधि र अनुदानलाई एकैसाथ जोडेर कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । हाल मैनालीसहित १५ जना किसान व्यावसायिक मौरीपालनमा सक्रिय भएका छन् भने आगामी वर्षहरूमा कार्यक्रमलाई थप विस्तार गर्ने तयारी रहेको छ ।
मौरीपालन प्रवर्धन कार्यक्रमले मरिण गाउँपालिकामा परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै कृषकलाई नयाँ सम्भावना र आयआर्जनको बाटो देखाएको छ । उचित तालिम, आधुनिक प्रविधि र स्थानीय सरकारको सहयोगले ग्रामीण क्षेत्रमा पनि मौरीपालनलाई दिगो तथा लाभदायी व्यवसायका रूपमा स्थापित गर्न सकिने विश्वास किसानहरूमा बढ्दै गएको छ ।