काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको साङ्गठनिक प्रतिवेदनमा उल्लेख भएको सदस्यता तथ्याङ्कलाई लिएर सञ्चारमाध्यममा आएका समाचारको हवला दिँदै राष्ट्रिय मानवअधिकार आयोगले जनाएको चासोप्रति स्पष्टीकरण दिएको छ ।
पार्टीले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २ सय ५७ जना सदस्य रहेको भन्ने समाचार वास्तविक सदस्यता अभिलेखमा आधारित नभई प्रारम्भिक आवेदन विवरणको रहेको जनाएको छ ।
पार्टीका अनुसार यसको डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’, ‘प्रमाणीकरण’ र ‘अन्तिम स्वीकृति’ छुट्टाछुट्टै प्रक्रिया हुन् ।
वेबसाइट वा एपमार्फत जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि नागरिकतालगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण र स्वीकृति नहुँदासम्म त्यस्तो आवेदनलाई सदस्यता मानिँदैन ।
अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीमै स्वतः रोक्ने, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण गर्ने, गल्तीवश स्वीकृत भएका सदस्यता तत्काल खारेज गर्ने रास्वपाले जनाएको छ ।
वि.सं. र ई.सं.सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक व्यवस्था गर्ने तथा बाँकी सबै आवेदन आधिकारिक कागजातका आधारमा पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

