ललितपुर । करिब दुई दशकको प्रतीक्षापछि दक्षिण ललितपुरको उन्युचौर ३३/११ केभी क्षमताको सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सबस्टेसन सञ्चालनमा आएसँगै दक्षिण ललितपुरका १९ वडामा विद्युत् आपूर्ति थप स्थिर, भरपर्दो र प्रभावकारी हुने तथा बारम्बार हुने विद्युत् अवरोधमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना अन्तर्गतको ३३/११ केभी, ६/८ एमभीए उन्युचौर सबस्टेसन २०८३ असार १६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
सबस्टेसनको उद्घाटन नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाले गर्नुभएको हो ।
यसअघि दक्षिण ललितपुरका अधिकांश क्षेत्रमा काठमाडौंको केन्द्रीय प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो ।
एउटै प्रसारण प्रणालीमा निर्भर रहँदा पटक–पटक विद्युत् अवरोध हुने समस्या उपभोक्ताले भोग्दै आएका थिए ।
नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै दक्षिण ललितपुरका सम्पूर्ण क्षेत्रमा विद्युत् वितरण प्रणाली थप सुदृढ हुने, लाइनको भोल्टेज सुधार हुने तथा प्राविधिक समस्याका कारण हुने विद्युत् अवरोध उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ ।
दक्षिण ललितपुर विद्युत् सहकारी संस्थाका फिल्ड इन्चार्ज श्याम सापकोटाका अनुसार अब उपभोक्ताले बारम्बार बत्ती जाने समस्याबाट धेरै हदसम्म राहत पाउनेछन् ।
सहकारीले दक्षिण ललितपुरका १९ ओटा वडामा विद्युत् वितरण तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ ।
स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको उन्युचौर सबस्टेसन सञ्चालनमा आएपछि दक्षिण ललितपुरको विद्युत् आपूर्ति प्रणाली थप विश्वसनीय बन्ने अपेक्षा गरिएको सहकारीका अध्यक्षा गोबिन्दप्रसाद बजगाईँले बताउनुभयो ।
यसबाट घरेलु उपभोक्तासँगै व्यवसाय, कृषि तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको पनि उहाँको भनाई छ ।
सबस्टेसनको उद्घाटन नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश निर्देशक मुनिन्द्र ठाकुर, कान्जोसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे, महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा गोले, आयोजना प्रमुख सङ्गीता कार्की पौडेल, सम्बन्धित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख जयकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको पहलमा अघि बढाइएको उनिउँचौर सबस्टेसन लामो समयको प्रयासपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सहकारीले प्रारम्भदेखि नै आयोजना निर्माणका लागि निरन्तर पहल गर्दै आएको थियो ।