मानव आवाज

२०८३ असार १४ गते
00: 00: 00
२०८३ असार १४ गते

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा वक्तृत्वकला प्रतियोगिता, मेरिल्याण्डका यादव पहिलो

विराटनगर । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका सुरज यादव पहिलो हुनुभएको छ ।

नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश समितिले विराटनगरस्थित श्री जनपथ माध्यमिक विद्यालयमा आयोजना गरेको प्रतियोगितामा मोरङ जिल्लाका २० विद्यालयका ५५ विद्यार्थी सहभागी भएका थिए । प्रतिस्पर्धामा ५४ जना प्रतियोगीलाई पछि पार्दै यादवले पहिलो स्थान हासिल गरेका हुन् ।

‘नेपाली खेलकुद: सम्भावना र चुनौतीहरू’ विषयमा सम्पन्न प्रतियोगितामा सुन्दरहरैंचास्थित सिद्धार्थ माध्यमिक विद्यालयका शरण परियार दोस्रो, पोखरिया माध्यमिक विद्यालयकी सोनिया तिम्सिना तेस्रो, सगरमाथा बोर्डिङ स्कुलकी आराध्या कर्ण चौथो तथा सेन्ट मेरीकी निर्जला भण्डारी पाँचौँ स्थान हासिल गर्न सफल हुनुभएको छ ।

खेलकुद महासङ्घ कोशी प्रदेशका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विजेताहरूलाई क्रमशः ५ हजार १ सय, ३ हजार १ सय, २ हजार १ सय, १ हजार १ सय र १ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद महासङ्घ केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दिपेश बास्तोलाले प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत ५५ विद्यार्थी सहभागी भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगीहरूलाई नेपाली वा अङ्ग्रेजीमध्ये आफूलाई सहज लागेको कुनै एक भाषामा वाक कला प्रस्तुत गर्ने व्यवस्था गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य–सचिव पर्शुराम बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन श्री जनपथ माध्यमिक विद्यालयले गरेको थियो ।

Author

Share the News

Recent News

Related News