मानव आवाज

२०८३ असार १४ गते
00: 00: 00
२०८३ असार १४ गते

भाषा साहित्य संरक्षणका लागि ११ बुँदे गोदावरी घोषणापत्र–२०८३ जारी

ललितपुर । गोदावरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, गोदावरी साहित्य परिषद्को आयोजना तथा ललितपुर साहित्य समाजको समन्वयमा आयोजित ‘प्राज्ञिक भेला, साहित्य विमर्श तथा स्रष्टा सम्मान’ कार्यक्रमले भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्धनका लागि ११ बुँदे ‘गोदावरी घोषणापत्र–२०८३’ जारी गरेको छ ।

गोदावरी नगरपालिकाको सभाहलमा २०८३ असार १३ गते सम्पन्न कार्यक्रममा ‘ललितपुरमा साहित्य प्रवर्धन’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

उक्त कार्यपत्रमाथि प्राज्ञ, साहित्यकार, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाबिच विस्तृत छलफल भएको थियो ।

कार्यक्रममा ललितपुर जिल्लाका पाँच ओटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख, विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि तथा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

छलफलका क्रममा सहभागीहरूले भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि स्थानीय तहको संस्थागत भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

सोही निष्कर्षका आधारमा ललितपुरलाई साहित्य, कला र संस्कृतिको दृष्टिले अझ समृद्ध, गौरवशाली र अग्रणी जिल्ला बनाउने प्रतिबद्धतासहित ‘गोदावरी घोषणापत्र–२०८३’ जारी गरिएको आयोजकले जनाएको छ ।

घोषणापत्रमा भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतसम्बन्धी अध्ययन–अनुसन्धान तथा पुस्तक प्रकाशनलाई प्रोत्साहन गर्ने, स्थानीय स्रष्टाहरूको खोज, अभिलेखीकरण र अनुसन्धानलाई अघि बढाउने, ललितपुरका सबै स्थानीय तहमा प्रज्ञा–प्रतिष्ठान गठनका लागि पहल गर्ने तथा प्रज्ञा–प्रतिष्ठान मञ्च स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अहिले महाङ्काल र कोन्ज्योसोममा मात्रै प्रज्ञा प्रतिष्ठानमार्फत साहित्य र कलाका क्षेत्रमा काम भइरहेको छ भने अन्य चार ओटा स्थानीय तहमा सो हुन सकिरहेको छैन ।

पठन संस्कृतिको विकास गर्ने, स्थानीय संस्कृति र सम्पदामा आधारित पाठ्यक्रम विकास गर्ने, मातृभाषाको संरक्षण तथा प्रवर्धन गर्दै भाषिक विविधताको सम्मान गर्ने, साहित्य तथा संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान र संरक्षण गर्ने, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने तथा स्थानीय तह, साहित्यिक संस्था र प्राज्ञिक समुदायबीच सहकार्य र साझेदारीलाई सुदृढ बनाउने विषय घोषणापत्रमा समेटिएका छन् ।

आयोजकका अनुसार ‘गोदावरी घोषणापत्र–२०८३’ ले ललितपुर जिल्लामा भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको संरक्षण तथा विकासका लागि स्थानीय सरकार, साहित्यिक संस्था, प्राज्ञिक समुदाय र सरोकारवालाबिच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

Author

Share the News

Recent News

Related News