ललितपुर । बाल साहित्यले बालमस्तिष्कको कल्पनाशीलता, सिर्जनशीलता र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यिनै गुणहरूलाई केन्द्रमा राखेर ललितपुर चापागाउँकी १४ वर्षीया आशिर्या देशार द्वारा लिखित Adventure Within Own Mind बालपाठकका लागि प्रेरणादायी र ज्ञानवर्द्धक कृतिका रूपमा प्रस्तुत भएको छ । पुस्तकमा समावेश कथाहरूले इतिहास, समाज, संस्कृति तथा मानवीय जीवनका विविध पक्षलाई बालमैत्री शैलीमा प्रस्तुत गरिएको छ । देशारले वास्तविक ऐतिहासिक प्रसङ्गहरूलाई आफ्नै कल्पना र अभिव्यक्तिसँग संयोजन गरी रोचक कथा निर्माण गर्नुभएको छ । यसले पाठकलाई मनोरञ्जन मात्र प्रदान गर्दैन, इतिहास र समाजबारे जिज्ञासा जगाउने कार्य पनि गर्दछ ।
पुस्तकको अर्को महत्वपूर्ण पक्ष यसको कल्पनाशील प्रस्तुति हो । कथाहरूमा मानव पात्रसँगै जनावर पात्रहरूको समेत प्रयोग गरिएको छ, जसले लोककथाको स्वाद प्रदान गर्दछ । सरल भाषा, रोचक घटनाक्रम र नैतिक सन्देशका कारण पुस्तक बालपाठकका लागि सहज र आकर्षक बनेको छ ।
देशारले किताबमा भन्नुभएको छ-बाल्यकालदेखि नै पुस्तक अध्ययन, यात्राबाट सिकाइ र विभिन्न संस्कृतिहरूको अवलोकनमा रुचि राख्ने स्रष्टा हुन् । परिवारसँग गरेका यात्राहरू, स्थानीय समुदायका कथाहरू र ऐतिहासिक स्थलहरूको अनुभवले यस पुस्तकको विषयवस्तुलाई समृद्ध बनाएको छ । विशेषतः इतिहासलाई आफ्नै शैलीमा पुनःव्याख्या गर्ने प्रयासले पुस्तकलाई सामान्य कथा-संग्रहभन्दा फरक पहिचान दिएको छ ।

लेखिकाः आशिर्या देशार
पुस्तकको अर्को सबल पक्ष यसका चित्रहरू हुन् । कलाकार परिवारमा जन्मनुभएकी आशिर्याले पुस्तकका धेरै चित्रहरू स्वयम् सिर्जना गर्नुभएको बाबु चित्रकार अजय देशारले बताउनुभयो । यसले पुस्तकलाई दृश्यात्मक रूपमा अझ आकर्षक बनाएको छ र पाठकलाई कथाको भावभूमिसँग सहज रूपमा जोड्न मद्दत गरेको छ । आशिर्याको सिर्जनशीलता, कथावाचन क्षमता र गहिरो सोचबारे अन्य लेखक र साहित्यकारलेसमेत प्रशंसा गर्दछन् ।
समग्रमा Adventure Within Own Mind बालपाठकलाई पढाइप्रति आकर्षित गर्ने, कल्पनाशक्तिलाई विस्तार गर्ने तथा इतिहास, संस्कृति र जीवनका विविध आयामबारे सोच्न प्रेरित गर्ने उत्कृष्ट कृति हो। यो पुस्तक बालबालिकाका साथै अभिभावक, शिक्षक र बालसाहित्यप्रेमी सबैका लागि उपयोगी र पठनीय बन्न सफल भएको छ । आशिर्याले नौ ओटा छुट्टाछुट्टै कथा पुस्तकमा समेट्नुभएको छ । उहाँले नेपाल भाषाका केही शब्दको अर्थसमेत किताबमा उल्लेख गर्नुभएको छ । फाइन आर्टसम्बन्धी सामुदायिक विद्यालय योङ पिकासोले सन् २०२६ को अप्रिलमा प्रकाशन गरेको यो पुस्तकको मुल्य ४ सय रुपियाँ राखिएको छ ।