मानव आवाज

२०८३ असार १० गते
00: 00: 00
२०८३ असार १० गते

विश्वकपमा रोनाल्डोको किर्तिमानी गोल

काठमाडौँ । रोनाल्डो फुटबलका एक हस्ती हुनुहुन्छ, जसले उमेरलाई चुनौती दिँदै विश्व फुटबलमा नयाँनयाँ कीर्तिमान रच्ने क्रमलाई अझै निरन्तरता दिनुभएको छ ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को २०८३ असार ९ गते राति भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको प्रेरणादायी प्रदर्शनमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । यस जितसँगै पोर्चुगलले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा रोनाल्डोले छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाउनुभयो ।

यो गोलसँगै उहाँले लगातार ६ ओटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडीको ऐतिहासिक कीर्तिमान कायम गर्नुभयो ।

सन् २००६ देखि २०२६ सम्मका सबै विश्वकप संस्करणमा गोल गर्ने रोनाल्डो एक्ला खेलाडी बन्नुभएको छ ।

पहिलो हाफमै दुई गोल गर्नुभएका रोनाल्डोले अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा लेखाउनुभयो ।

उहाँले पोर्चुगलका महान् खेलाडी युसेबियोको नाममा रहेको विश्वकपमा ९ गोलको कीर्तिमान तोड्दै आफ्नो गोल सङ्ख्या १० पुर्‍याउनुभएको छ । यससँगै उहाँ पोर्चुगलका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ ।

एकपछि अर्को कीर्तिमान रचिरहनुभएका रोनाल्डोले फेरि एकपटक प्रमाणित गर्नुभएको छ-विश्व फुटबलको इतिहासमा उहाँको नाम केवल महान् खेलाडीका रूपमा मात्र होइन, कीर्तिमानका पर्यायका रूपमा पनि सधैँ सम्झिनेछ ।

Author

Share the News

Recent News

Related News