पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले खाद्य गुणस्तर कायम राख्न तथा उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुन नदिन पोखराका विभिन्न बजार क्षेत्रमा अनुगमन गरी अखाद्य वस्तु बिक्रीवितरण गरेको आरोपमा तीन व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरेको छ ।
पोखरा क्षेत्रका राष्ट्रिय तथा सहायक राजमार्ग आसपास अखाद्य वस्तु बिक्री भइरहेको गुनासोपछि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा २०८३ जेठ २४ र २०८३ असार ३ गते संयुक्त बजार अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च कास्की तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा केही पसल तथा रेस्टुरेन्टहरूले खरिदबिक्री बिल नराखेको, व्यवसाय दर्ता वा नवीकरण नगरेको, मूल्यसूची देखिने ठाउँमा नराखेको, म्याद नाघेका तथा लेबल नभएका वस्तु बिक्री गरेको र सरसफाइमा लापरबाही गरेको पाइएको थियो ।
पृथ्वीचोकस्थित फुड साथी कारबाहीमा परेको छ । उक्त प्रतिष्ठानमा मकैको पिठो, स्याउ र मेवा लगायतका अखाद्य वस्तु बिक्री भइरहेको भेटिएपछि ५० हजार रुपियाँ जरिबाना गरिएको छ ।
त्यसैगरी, जीएमसी हस्पिटल परिसरस्थित जी.एम.सी. क्याफेमा समोसा, पाउरोटी, भेज तथा चिकेन प्याटिज र पकाउने तेलमा कैफियत भेटिएपछि ५० हजार रुपियाँ जरिबाना गरिएको छ ।
जी.एम.सी. चमेना गृहमा आइस प्याड र पकाउने तेलमा कैफियत भेटिएपछि ५० हजार रुपियाँ जरिबाना गरिएको प्रशासनले जनाएको छ ।
जरिबाना रकम सरकारी बैङ्क खातामा दाखिला गरिएको तथा सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशनसमेत दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनका क्रममा कतिपय पसलमा सरसफाइको अभाव रहेको तथा खाद्य र अखाद्य वस्तु एउटै स्थानमा राखिएको पनि पाइएको थियो ।
टोलीले व्यवसायीहरूलाई नियमित सरसफाइ कायम राख्न, उपभोग्य मिति सकिएका सामग्री छुट्याएर नष्ट गर्न, खरिदबिक्रीको अभिलेख व्यवस्थित राख्न तथा खाद्य पदार्थको उचित भण्डारण व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

