काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले भारतीय पक्षले नेपाली चिया निर्यातमा लागू गरेको नयाँ नियमका कारण चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै नेपाल सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष ढाकाराम पौडेलद्वारा २०८३ जेठ २ गते जारी विज्ञप्तिमा नेपाली चिया उद्योगले हाल अभूतपूर्व चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले सन् २०२६ मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) का कारण नेपाली चिया उत्पादक तथा निर्यातकर्ता मर्कामा परेका छन् ।
सङ्घले भारतीय पक्षले प्रयोगशाला परीक्षणका लागि लगिएको चियाको प्रतिवेदन लामो समयसम्म उपलब्ध नगराउने तथा सामान्य कमजोरी देखिएमा समेत सम्पूर्ण चिया नष्ट गर्ने व्यवस्था लागू गरेको भन्दै यसलाई अव्यावहारिक र अन्यायपूर्ण कदमको संज्ञा दिएको छ ।
नेपालमा उत्पादन हुने चियामध्ये करिब ८० देखि ९० प्रतिशत भारतमा निर्यात हुने गरेको छ। हाल भारतीय गोदाममा करिब २ लाख किलो चिया रोकिएको छ भने नेपालका गोदाममा १० लाख किलोभन्दा बढी चिया निर्यातको प्रतीक्षामा रहेको सङ्घले जनाएको छ ।
चिया उद्योगमा देखिएको सङ्कटका कारण उद्योग सञ्चालन प्रभावित भएको सङ्घको दाबी छ । विज्ञप्तिअनुसार वार्षिक करिब साढे चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएका उद्योगमध्ये ३० ओटा उद्योग २०८३ असार १ गतेदेखि बन्द भइसकेका छन् भने थप ८३ ओटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
यस अवस्थाले ३० हजारभन्दा बढी मजदुर तथा १५ हजारभन्दा बढी किसान प्रत्यक्ष रूपमा प्रभावित भएको सङ् घले जनाएको छ ।
समयमै टिप्नुपर्ने चियाका कोमल पात बिक्री तथा प्रशोधन हुन नसक्दा उत्पादकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताइएको छ ।
सङ्घले यस समस्यालाई सामान्य व्यापारिक समस्या नभई राष्ट्रिय उत्पादन, निर्यात, रोजगारी तथा विदेशी मुद्रा आर्जनसँग प्रत्यक्ष जोडिएको गम्भीर आर्थिक विषयका रूपमा लिन सरकारसँग आग्रह गरेको छ ।
नेपाल र भारत सरकारबीच उच्चस्तरीय कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न, सीमा नाकामा आवश्यक चेकजाँच तथा सहजीकरणको व्यवस्था मिलाउन र नेपाली चियाको दिगो बजार सुनिश्चित गर्न अन्य मुलुकमा समेत निर्यातका अवसर खोज्न सरकारसँग माग गरिएको छ ।
